Logo

एमाले सांसद् थापाको प्रश्नः ‘नेकपा मरेको छ र ब्युँतिन ?’



काठमाडौं, ३१ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले माओवादी र एमाले मिलेर बनेको तत्कालीन नेकपा व्युँतिन नसक्ने बताएका छन् । उनले माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा व्युँताउँछौं भनेर मनको लड्डु घिउसित खाने गरेको टिप्पणीसमेत गरे । हिजो (शनीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै सांसद थापाल नेकपा मावध नेपाल, प्रचण्डको पोल्टामा नभएर ऋषि कट्टेलको नाममा दर्ता रहेकाले पुरानै फम्र्याटको नेकपा व्युँताउन असम्भव रहेको बताएका हुन् ।

‘यो व्युँतिन्न क्या । कहाँ मरेको छ र व्युँतिने ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त ऋषि कट्टेलजीको समूहको रुपमा छँदैछ । उहाँले माधवकुमार नेपाललाई पनि दिनुहुन्न । केपी शर्मा ओलीजीलाई पनि दिनुहुन्न । पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि दिनुहुन्न,’– उनले भने ।

अदालतको फैसलापछि नयाँ नामको आधारमा एकतालाई कायम राखौं भनेर ओलीले पटक–पटक भनेपनि प्रचण्डले नचाहेको उनको आरोप छ । नेकपा सनक चल्दा बन्ने र सनक चल्दा विघटन हुने सजिलो संयन्त्र नभएको उनले बताए ।

‘अदालतले फैसला गरेपछि नयाँ नाम लिएर जाऔं, एकतालाई कायम राखौं भनेर हाम्रो अध्यक्ष कमरेड केपी ओलीले त्यतिबेला प्रचण्डलाई भन्नुभएको हो । प्रचण्डले नचाहेर यो स्थिति भएको हो । हिजोको फम्र्याटको नेकपा भन्ने छैन । त्यो व्युँतिन सक्दैन । यो बेकारको मनको लड्डु घिउसित किन खानु हो,’– थापाले भने ।

उनले माधव नेपाल कांग्रेसको पिछलगु भएर हिँडेको टिप्पणी गरे । कांग्रेसको पिछलगु र प्रचण्डको हुक्के, बैठके भएर हिँड्नेले नेकपा व्युँताउने कुरा गर्न नसुहाउने उनको टिप्पणी छ । तत्कालीन समयमा नेकपा फुटाउने कसम खाएरै हिँडेका माधव नेपालले अहिले नेकपा किन चाहिरहेका छन् भन्ने आफूले बुझ्न नसकेको पनि उनले बताए ।

‘पार्टी फुटाएर कांग्रेसको पिछलगु भएर चमर हल्लाउँदै हिँड्ने, शेरबहादुर देउवाको चमर हल्लाउँदै हिँड्ने, प्रचण्डको हुक्के, बैठके भएर हिँड्ने उहाले भनेर नेपाल कम्युनिष्ट पार्टी कसरी व्युँतिन्छ ? नेकपा त ऋषि कट्टेलजीको पार्टी हो । माधव नेपालले याचना गरेर, निवेदन हालेर पाउनुहुन्छ र ?’– उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot