Logo

पूर्व कर्मचारीलाई अख्तियारको आयुक्त नबनाउन कांग्रेस नेता सिवाकोटीको माग



काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पूर्व कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख र आयुक्तमा नबनाउनुपर्ने माग राखेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान स्टाटस लेख्दै पूर्व कर्मचारीलाई अख्तियारमा लैजान रोक्ने हो भने राजनीतिक संरक्षणमा हुने साँठगाँठको अन्त्य हुने भन्दै यसको भण्डाफोर गर्न आह्वान गरेका हुन्।

उनले पूर्व घुस्याहा कर्मचारीहरू अख्तियारमा पुग्दा आफ्ना पुराना फाइल दबाउन र सेटिङमा सम्पत्ति कुम्ल्याउन लागिपरेको बताएका छन्। उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्तमा पूर्व कर्मचारी ल्याउने कुरामा पूरै स्वार्थ बाझिँदै आएको देखिएको छ । राजनीतिक शक्ति केन्द्रहरूलाई प्रभावमा पारेर अख्तियारमा पुगेकाहरु त्यहाँ पुगेपछि आफू कर्मचारी हुँदाको हिसाबकिताब मिलाउन, फाइल दबाउन र सेटिङमा सम्पति कुम्ल्याउन मात्र लागेको एक पछि अर्को घटनाक्रमले देखाएको छ।’

उनले यसलाई थप पुष्टि हुने गरी दृष्टान्त केलाउँदै अगाडि लेखेका छन्, ‘आफूलाई बोक्ने राजनीतिक शक्ति केन्द्रको इसारामा प्रयोग हुने, अकुत सम्पत्ति कुम्ल्याउने, आफ्नालाई चोख्याउने गरेकोसमेत उनीहरुको विवादास्पद गतिविधिले देखाएको छ। नत्र अख्तियारकै पूर्व प्रमुख आयुक्त तथा आयुक्तहरु पनि जेल जाने अवस्था किन आउथ्यो ?’



प्रतिक्रिया दिनुहोस्