Logo

विज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थीलाई अनुदान



काठमाडौं, १७ असोज । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान र जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त आयोजनामा कीर्तिपुर स्थित काठमाडौ सेन्टर फर रिर्सच एण्ड एजुकेशन (केसीआरई) को सभाकक्षमा केसिआरई उत्कृष्ट शैक्षिक अनुदानबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विभिन्न विभाग तथा क्याम्पसहरुमा अध्ययनरत स्नातकोत्तर तहका १३ जना उत्कृष्ट शोधार्थी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । वार्षिक रुपमा उपलब्ध गराइदै आएको उक्त शैक्षिक अनुदानको को राशी रु ८० हजार रहेको छ ।

त्रिभुवन विश्वविद्यालय र चाइनिज एकेडमी अफ साइन्सेस बीच सन् २०१४ मा सहमति भई उक्त राशिको अनुदान केन्द्रीय विभाग लगायत क्याम्पसहरुमा अध्ययन गर्ने त्रिविका विद्यार्थीहरुले प्राप्त गरिरहेका छन । हालसम्म १३० जना शोधार्थी विद्यार्थीहरुले उक्त अनुदान प्राप्त गरिसकेका छन् ।

उत्कृष्ट शोधार्थी अनुदान प्राप्त विद्यार्थीहरुमा वातवरण केन्द्रीय विभागका अन्जुली मुल्मी, खाद्य प्रविधि केन्द्रीय विभागका स्वेच्छा थापामगर, वायोटेक्नोलोजी केन्द्रीय विभागका रोजीना पाण्डे, रसायशास्त्र केन्द्रीय विभागका विद्यार्थीद्धय सोनिया जोशी र सीता खडका, भौतिकशास्त्र केन्द्रीय विभागका सागर पाण्डे, गणित केन्द्रीय विभागका सन्देश ठकुरी, प्राणिशास्त्र केन्द्रीय विभागका अन्जु कर्माचार्य, तथ्याङ्कशास्त्र केन्द्रीय विभागका श्रृषा रिजाल, माइक्रोवायोलोजि केन्द्रीय विभागका लक्ष्मी पाण्डे, भुगर्भशास्त्र केन्द्रीय विभागका नागेश रिजाल, वनस्पतीशास्त्र केन्द्रीय विभागका विनिका माथे र जल तथा मौसम विज्ञान केन्द्रीय विभागका स्मृति अधिकारी रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले उत्कृष्ट शोधार्थी विद्यार्थीहरुलाई उक्त अनुदान प्रदान गरेका हुन् । उत्कृष्ट शोधार्थी विद्यार्थीहरुलाई अनुदान हस्तान्तरण गर्ने कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्नुहुँदै शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले विज्ञानका उत्कृष्ट वैज्ञानिक विद्यार्थीहरुले विश्वविद्यालयको गरिमा बढाउने र भविष्यमा थप उत्कृष्ट कार्य गर्ने अपेक्षा व्यक्त गरेका थिए ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा विनिल अर्यालले चाइनिज एकेडमी अफ साइन्सेस विश्वकै उत्कृष्ट वैज्ञानिकहरु निर्माण गर्ने संस्था रहेको र नेपालमा विज्ञान शिक्षाको विकास र गुणस्तरका लागि सहयोग गर्दै आइरहेको बताए ।

आगामी दिनमा त्रिभुवन विश्वविद्यालयले अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुसँग सहकार्य गरी विद्यार्थीहरुलाई विविध प्रकारका आर्थिक एवम् प्राज्ञिक सहयोगहरु उपलब्ध गराउने बताएका थिए । जल तथा मौसक विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा दीपक अर्यालले सबै विद्यार्थीहरुमा शुभकामना व्यक्त गर्नुहुँदै आर्थिक प्रोत्साहनका अन्य स्रोतहरु मार्फत विद्यार्थीहरुलाई अनुसन्धानमा उत्पे्ररित गर्नुपर्ने बताएका थिए ।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक तथा काठमाडौ सेन्टर फर रिसर्च एण्ड एजुकेशनका उपनिर्देशक डा. विनोद दवाडीका अनुसार विद्यार्थीहरुले प्राप्त गर्ने रु ८० हजारमध्ये ६० प्रतिशत अर्थात ४८ हजार रुपैया पुरस्कृत भएको दिन र बाकि २० प्रतिशत शोधकार्य ९ महिना भित्र सम्पन्न गरी सम्वन्धित विभागको सिफारिसअनुसार र अन्तिम २० प्रतिशत सम्बन्धित शोधार्थीले राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलमा अनुसन्धानात्मक लेख २ वर्षभित्र प्रकाशित गरिसकेपछि प्रदान गरिने प्रावधान रहेको छ ।

नियमानुसार केसिआरई उत्कृष्ट शोध अनुदान बाट पुरस्कृत हुनुका लागि पहिलो चरणमा शोधकार्य अघिको सेमेष्टरमा उच्चतम अंक प्राप्त गरेका र उत्कृष्ट शोत्रप्रस्तावना भएका ३ जना विद्यार्थीहरुलाई सम्बन्धित विषयको विभागीय अनुसन्धान समिति बाट सिफारिस गरिनेछ । यसरी सम्बन्धित विभागबाट सिफारिस भई आएका विद्यार्थीहरुमध्येवाट सर्वोत्कृष्ट विद्यार्थीलाई विज्ञान तथा प्रविधि अध्ययन संस्थानले गर्ने छनौट प्रक्रिया रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्