Logo

वामदेव गौतमको टिप्पणी : जनताले राजसंस्था ल्याए भने हामी सबै जेलतिर जाने, अनि उनले (ज्ञानेन्द्र) ले शासन गर्ने (भिडिओसहित)



काठमाडौं, ९ कार्तिक । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले अहिलेको सरकारलाई सुरुदेखि नै संकट पैदा भएको दाबी गरेका छन् । उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मनले पद छोडिदिए अरु प्रधानमन्त्री बन्ने सम्भावना भएपनि अहिले प्रचण्डले नछोडेसम्म तत्काल अर्को सरकार बन्ने सम्भावना आफूले नदेखेको पनि दाबी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यद्धपी उनले सत्ता गठबन्धनभित्रै समस्या उत्पन्न भएको टिप्पणी गरे ।

उनले अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना पनि नरहेको जिकिर गरे । उनले नेपाल विकास गर्न योग्य देश भएको जिकिर गरे । देशको विकासको लागि विदेशीसँग हात फैलाउनुपर्ने अवस्था देशको नभएको उनको भनाई छ । उनले अहिलेको नयाँ भनिएको गणतन्त्रको व्यवस्थाले जनतालाई केही पनि नदिएको कारण विकल्प खोजेको दाबी गरे ।

उनले भने,‘यो सिस्टम, जसलाई नयाँ सिस्टम भनिएको छ, यो सिस्टमले जनतालाई केही दिएको छैन्, त्यसो भएर जनताले विकल्प खोज्छन् । विकल्प खोज्दाखेरि, राजा । राजाको त जम्मै देखियो नि त । ज्ञानेन्द्रले जति समय राज गर्नुभयो, उहाँले के गर्नुभयो ? उहाँको हातमा त थियो नि, शासन र सत्ता । त्यसबेला उहाँ किन निरंकुश बन्नुभएको ? शासन-सत्ता सबै किन आफ्नो हातमा लिएको ? राजाको पनि परख भैसकेको छ, वीरेन्द्र र महेन्द्रको सबैको देखिएको छ, महेन्द्र बाँचेको भए केही हुन्थ्यो की भन्ने मैले सोचेको थिएँ । देशलाई एकीकृत गर्ने काम पनि महेन्द्रले गरेका हुन् ।’ उनले अहिले कम्युनिष्टहरुको बाहुल्य भएको देशमा कम्युनिष्टहरु मिल्नुपर्नेमा जोड दिए । राजसंस्था समाप्त भएपछि कार्यकारी राष्ट्रपति आउनुपर्दैन ? भन्दै उनले प्रश्न गरे ।

उनले अहिलेका प्रधानमन्त्री भएकाहरु (गणतन्त्र आएपछि) काहरुले देश विकास कसरी हुन्छ ? भनेर कसैले पनि आर्टिकल नलेखेकोमा आलोचना गरे । उनले अहिले भएका प्रधानमन्त्रीसँग पनि देश विकासको लागि दृष्टिकोण नभएको आरोप लगाए ।

उनले आफूले तत्कालिन राजा ज्ञानेन्द्रलाई निरंकुश शासन नभएर यसरी शासन चलाउनुहोस भनेर भेट्न चाहेको स्मरण गराए । उनले भने,‘म पहिला राजा ज्ञानेन्द्रसँग निरंकुश शासन नभएर यसरी शासन चलाउनुहोस भनेर भेटन् चाहन्थें । र, माओवादीसँग सम्झौता संवैधानिक राजतन्त्रमा आधारित भएरै लैजाने चाहन्थें । त्यस्तो अवस्थामा मैले उहाँसँग भेट्नको लागि भनेको थिएँ । मैले अनेकौं कोशिस गरें । ज्ञानेन्द्रले भेट दिनुभएन । आफ्नो हातमा सिंगो शासन लिनुभयो । एक वर्षमै सबै ढल्यो ।’

आफूले नै एमालेमा त्यसपछि राजतन्त्र फ्याँकेर गणतन्त्र ल्याउने प्रस्ताव राखेको पनि गौतमले स्मरण गराए । तर, तत्कालिन राजा ज्ञानेन्द्रमा भने अब आफू महेन्द्र नै हुँ भन्ने घमण्ड रहेको उनको आरोप छ । उनले अब देशमा राजसंस्था नफर्कने पनि दाबी गरे । उनले भने,‘अब देशमा राजतन्त्र आउँदैन, आउन हुन्न ।’

पत्रकार धमलाले राजसंस्था आयो अनि जनताले ल्याए भने के गर्ने ? भनेर सोधेको प्रश्नमा नेता गौतमले भने–‘आयो भने मानेर जाने । जनताले ल्याए भने हामी सबै जेलतिर जाने, अनि उनले शासन गर्ने ।’ उनले नेपाल अब हिन्दूराष्ट्र कहिल्यैपनि नबन्ने ठोकुवा गरे । उनले भने,‘नेपाल हिन्दूराष्ट्र बन्दैन् । हिन्दूराष्ट्र बन्नको निम्ति मनुस्मृतिमा आधारित शासन व्यवस्था हुनुपर्छ । हुन्छ ? आज चल्छ त्यो ? हिन्दूराष्ट्र भन्याछ, इतिहास पढुनु छैन् ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot