Logo

दलका नेताहरुकै कारण नेपाली युवाहरु विदेशिन बाध्य भएको एनआरएनए अभियन्ताहरुको आरोप, झाँक्रीको अभिव्यक्तिमा आपत्ति



काठमाडौं, १० कात्तिक । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा दिएको अभिव्यक्तिलाई लिएर एनआरएनएका सदस्य, सरोकारवाला र कानुनविद्हरुले आपत्ति जनाएका छन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेताहरुकै कारण नेपाली युवाहरु विदेशिन परिरहेको अवस्थामा झाँक्रीको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताएका हुन् । कार्यक्रमका वक्ता श्रीराम कँडेलले झाँक्रीजस्ता नेताहरुको कारण आफूहरु विदेशिनुपरेको र नेपाल एशियाकै गरिब राष्ट्रमा रुपान्तरित भएको बताए । ‘नेपालमा जुन राजनीतिले यो देशलाई बिगार्यो, कमजोर बनायो, अहिले एसियाको एक नम्बर गरिब भइसक्यो । अब विश्वको एक नम्बरमा पुर्याउने दौडमा नेताहरु छन्,’– उनले भने ।

एनआरएनहरुले विदेशमा बाध्यताले त्यहाँको ग्रिनकार्ड, पिआर लगायतको सुविधा लिएको उनको भनाई छ । त्यहाँको ग्रिनकार्ड, पिआर लिनु नेपालीहरुका लागि रहर नभएर बाध्यता रहेको उनको दाबी छ । त्यहाँको सेवा, सुविधा लिन, बैंक खाता सञ्चालन गर्न लगायतका काममा त्यहाँको स्थायी आवासिय प्रमाण पत्र लिन नेपालीहरु बाध्य हुने उनको भनाई छ ।

नेपालमा बस्नका लागि युवाहरुलाई अत्यन्त कठिन र पीडा भएपछि बाध्यताले पेट पाल्न र आफ्नो सन्ततीको भाग्य भविष्य निर्माण गर्न विदेश जानुपरेको उनले बताए । कुनै नेपाली हाँसेर विदेश नगएको बताउँदै उनले यो कुरा रामकु्मारी झाँक्रीजस्ता नेताहरुले बुझ्न आवश्यक रहेको बताए । विदेशिएका नेपालीले त्यहाँको ग्रिनकार्ड, पिआर लगायतको सुविधा लिँदैमा यहाँका वंशजको नागरिकता त्याग्नुपर्ने व्यवस्थाले विदेशमा जानेहरुको हृदयमा कुठराघात गरेको उनको भनाई छ ।

‘हरेक नेपाली युवा एयरपोर्टबाट रुँदै विदेशिन्छन् । बाबुआमा आफन्तहरुले रुँदै विदा गरिरहेका छन् । त्यो अवस्थाबाट एउटा नेपाली विदेशिन्छ । यो कुरा राजनीति गर्ने रामकुमारी झाँक्रीजस्ताले बुझ्नुपर्ने विषय हो । उहाँहरुजस्ता नेताको कारण आज युवाको अवस्था जर्जर बनेको छ ।’ उनले भने, ‘उनीहरु विदेशमा बस्दैगर्दा त्यहाँको वातावरणले त्यो कागजको खोस्टो घाँडो नहोस् भन्नका लागि त्यहाँको नागरिकता लिइहाले पनि त्यहाँको नागरिकता लिएपछि नेपालको वंशजको नागरिकता स्वत निष्कृय हुने भनेको छ । यसले बाध्यतावस विदेशमा जानेहरुको हृदयमा कुठराघात गरेको छ ।’

आफ्नो देशमा रोजगारी नभएर विदेशिएका नेपालीहरुको वंशजको नागरिकताको सम्बन्ध टुटाउने वातावरण अहिलेको व्यवस्थाले गरेको उनले बताए । महाधिवेशनको क्रममा नागरिकताको निरन्तरताको विषयमा योगेन क्षेत्रीलगायत र नेकपा एकीकृत समाजवादीकी सचिव झाँक्रीबीच भएको विवादमा केन्द्रीय हुँदै उनले झाँक्रीले लाखौं नेपाली मूलका नागरिकमाथि अपमान गरेको बताए ।

झाँक्रीले विदेशमा गएका नेपालीहरुलाई रेस्टुरेन्टमा काम गर्दागर्दै फुर्सद नभएको टिप्पणी गरेको स्मरण गराउँदै उनले झाँक्रीलगायतका नेताहरुलाई भ्रष्टाचारको पैसा खाँदै नेपालको बारेमा सोच्ने फुर्सद नभएको उनको आरोप छ ।

‘तपाईँहरुका कारणले यो मुलुक आज एसियाको गरिब भयो । भोलि यो मुलुक विश्वको गरिब हुनेछ । त्यो अवस्थामा कसले कसले पुर्यायो ? यसको जवाफ चाहीँ कसले दिने ? विदेशमा गएकालाई त रेस्टुरेन्टमा काम गर्दै फुर्सद भएन, हामीले मान्यौं । तर, यो देशमा राजनीति गर्नेहरुलाई केले फुर्सद भएन ?’ प्रश्न गर्दै उनले भने, ‘भ्रष्टाचारको पैसा खाँदै फुर्सद भएन । आज यो मुलुक यस्तो अवस्थामा जानुपर्ने त्यहाँभन्दा अर्को के कारण छ ?’

नेताहरुले युवालाई विदेशमा जान बाध्य बनाएपनि तिनै युवाहरुले पठाएको रेमिट्यान्सले अहिलेको सरकार धानिरहेको उनको टिप्पणी छ । झाँक्री र उनीजस्तै नेताहरुको कारण विदेशिन बाध्य भएका नेपालीहरुले पठाएको रेमिट्यान्सबाट तलब खाइरहेको उनले बताए । एनआरएनएका सदस्यहरुले पठाएको रेमिट्यान्सको तबल खाने सांसदहरुलाई एनआरएनएलाई गालीगलौज गर्ने अधिकार नरहेको बताए ।

अर्का वक्ता गैरआवासीय नेपाली संघका अभियन्ता कृष्ण खतिवडाले आफूहरुले भित्रभित्रै उठाइरहेको वहस झाँक्रीले सुनामीको रूपमा नेपाली राजनीतिमा ल्याइदिएको भन्दै धन्यवाद व्यक्त गरे । झाँक्रीको अभिव्यक्तिले यो मुद्दालाई हरेक घरघरमा पुर्याएको उनले बताए ।

आज नेपालमा रोजगारी र अवसर नपाएर विदेशिने युवाहरु हरेक घर–घरमा रहेको बताउँदै उनले विदेशमा गएपछि त्यहाँको परिस्थितिमा बाँच्ने र टिक्ने उपाय गर्नु स्वभाविक भएको बताए । विदेशमा गएपछि पिआर लिनु बाध्यता रहेको उनको भनाई छ । अहिलेको संविधानका कारणले विदेशमा गएर दुःख गरिरहेका मूलवासीलाई बाहिर लखेट्ने काम भएको उनले बताए ।

प्रायः एनआरएनएलाई विदेशमा दुःख नभएपनि आफूहरु आत्मसम्मानका लागि बोलिरहेको उनले बताए । मूलवासीलाई विदेश लखेट्ने र विहारीले देश भर्ने काम भइरहेको उनको आरोप छ । नेपालको कानुनले नेपाली मुलवासीलाई नेपाल फर्किने र अधिकारको उपभोग गर्ने ढोका बन्द गर्न नहुने उनले बताए ।

अर्का वक्ता योगेन क्षेत्रीले यो देशमा बस्न पाउने र नागरिकताको अधिकार एनआरएनहरुले पनि पाउनुपर्ने बताए । संसारको कुनै पनि देशले वंशजको नागरिकलाई कानुन बनाएर, नियम बनाएर अनागरिक बनाउन नपाउने उनले बताए । नागरिकता प्राप्त गरेर राजनीतिक अधिकार हुने नागरिकता संसारको कुनै पनि देशमा नरहेको र यो व्यवस्था संयुक्त राष्ट्रसंघको वडापत्रको विरुद्ध रहेको उनको दाबी छ ।

अहिले एनआरएनएमा राजनीतिक दलका केही व्यक्तिहरु गएर कब्जा गरेर बसेको उनको आरोप छ । यहीँका राजनीतिक दलका नेताहरुले कब्जा गरेको कारण अहिले एनआरएनएमा भाँडभैलो रहेको उनले बताए ।

‘हामी यो देशको पक्षमा छौं । यो देशको विकासको पक्षमा छौं । फर्केर आएर आफूले सिकेका सीप, अनुभव, शिक्षासहित लिएर यो देश बनाउन आउँछौं भन्दा हामीलाई छेकिएको छ, डिसकरेज गरिएको छ । त्यसकारण यो संविधान हाम्रो र नेपालको पक्षमा छैन । संविधानभन्दा माथि वंशजको नागरिक हुन्छ । वंशजको नागरिकतालाई हनन् गर्ने संविधान यो देशको संविधान हुनसक्दैन,’– उनले भने ।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले विश्वका २ सय १ देशमध्ये एक सय ८६ देशले दोहोरो नागरिकताको सिद्धान्त स्वीकार गरेको बताए । इमरान खान अमेरिकाको पनि नागरिक हुँदाहुँदै पाकिस्तानको प्रधानमन्त्री बनेको उनले बताए । त्यसैगरी बेलायतका वर्तमान प्रधानमन्त्री ऋषि सुनक पनि अमेरिकाको ग्रिनकार्ड होल्डर भएको उनको भनाई छ ।

‘संसारमा अहिले २०१ वटा देश छन् । तीमध्ये करिब १५ वटा देशले दोहोरो नागरिकताको सिद्धान्त मान्दैनन् । त्यो बाहेकका देशले दोहोरो नागरिकताको सिद्धान्त स्वीकार गरेको छ,’– उनले भने ।

दोहोरो नागरिकता संसारमा रहेको बताउँदै उनले नेपालमा २०६३ सालपछि यो समस्या आएको बताए । नागरिकता ऐन २०६३ बनाएर जन्मको आधारमा नेपालको नागरिकता दिने व्यवस्था गरेको भन्दै उनले आपत्ति जनाए । नेपालमा रहेको विभिन्न देशका शरणार्थीले समेत नेपालको नागरिकता पाएको उनको दाबी छ । राज्यले रोजगार दिन नसकेर विदेशिएका नेपाली वंशजको नागरिकले सरकारले कानुन बनाएर अब तिमी नेपाली रहेनौं भनेको उनले बताए ।

२०६३ अघि नेपालमा दोहोरो नागरिकताको सिद्धान्त लागू रहेको दाबी गर्दै उनले विदेशी राष्ट्रहरुको स्वार्थमा त्यसमा बन्देज लगाएर बरु जन्मको आधारमा नागरिकता बाँड्न थालिएको उनको अरोप छ । सिक्किमको मोडल र नेपालको मोडल एउटै भएको दाबी गर्दै उनले नेपालका राजनीतिज्ञहरु बाहिरबाटै सञ्चालिरहेको टिप्पणी गरे ।

गैरआवासीय नेपालीहरुलाई वंशजको नागारिकतामा रोक लगाउनुको उद्देश्य नेपाललाई सिक्किमीकरण गर्ने रहेको उनले बताए । आफ्ना वास्तविक नागरिकलाई वंशजको नागरिकबाट हटाएर सरकारले करिब ५५ लाख आयतितलाई नागरिकता बाँडेको उनको अराप छ ।

राजनीतिको झोला त्यागेर नेपालको रक्षाको लागि उठ्न उनले संसारभरका नेपालीलाई आग्रह गरे । अहिले नेपालीले कमाएको डलरको फाइदा भारतले खाएको उनको भनाई छ । जापान, अमेरिका लगायतको देशमा नेपालीले कमाउने पैसा रामकुमारी झाँक्री लगायतका नेताहरुले सोही काममा दिन तयार भए सबै नेपाली नेपाल फर्किन तयार रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्