Logo

विश्वकप छनोटमा मंसिर ५ गते यमनविरुद्ध भिड्दै नेपाली राष्ट्रिय फुटबल टिम, तयारी पूरा भएको एन्फाको दाबी



काठमाडौं, २१ कार्तिक । विश्वकप छनोटमा नेपाली राष्ट्रिय फुटबल टिमले आगामी मंसिर ५ गते यमनको सामना गर्ने भएको छ । दोस्रो चरणको पहिलो लेग खेलमा नेपालले मङ्सिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यमनको सामना गर्नेछ । नेपाल र यमनबिचको खेल साँझ ७ बजे सुरु हुनेछ । त्यसपछि नेपालले यमनको घरेलु मैदानमा दोस्रो लेग खेल खेल्नेछ ।

यमनविरुद्धको खेलका लागि २६ सदस्यीय नेपाली टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । नेपाली टोलीलाई मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले प्रशिक्षण दिइरहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (मंगलबार) पत्रकार सम्मेलन आयोजना गरेर उक्त खेलको तयारी पुरा भएको जनाएको छ ।

नेपाल र यमनबिचको खेलका लागि साधारण प्यारापिटतर्फ टिकटको मूल्य चार सय रुपैयाँ र भीआईपी प्यारापिटतर्फको टिकट मूल्य भने एक हजार रुपैयाँ कायम गरिएको छ ।एन्फाका प्रवक्ता सुरेश शाहले नेपाल र यमनबिचको खेलको अनुमानित बजेट ७३ लाख ६८ हजार चार सय रुपैयाँ रहेको जनाए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्