Logo

बजेट प्रतिस्थापन विधेयक फेल गराईदिने कोशी एमालेको चेतावनी



काठमाडौं,१२ मंसिर । नेकपा एमालेले कोशी प्रदेश सभामा पेश भएको बजेट प्रतिस्थापन विधेयक पारित गर्न नदिने चेतावनी दिएको छ ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट हेरफेर गरेर मुख्यमन्त्री केदार कार्कीले बजेत प्रतिस्थापन विधेयक सदनमा ल्याएका थिए । आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकारले ल्याएका योजनाहरु हटाएर मुख्यमन्त्रीले मनपरी गरेको एमालेको आरोप छ ।

मंगलबार बसेको प्रदेश सभाको बैठकमा एमाले र राप्रपाले विरोध जनाएका हुन् । प्रदेश सभाको अध्यक्षता गरिरहेकी उपसभामुख सिर्जना दनुवार अष्ट्रेलिया गएपछि सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले एमोल राप्रपाको विरोधपछि एमाले कोशी प्रदेश संसदीय दलका उपनेता रामबहादुर रानालाई बोल्ने समय दिएका थिए ।

त्यसपछि आफ्नो धारणा राखेका रानाले मुख्यमन्त्री आफूहरुसँगको सहमति विपरित बजेट जथाभावी चलाएको आरोप लगाए । ‘यो बजेट फेल भयो भने के हुन्छ भन्ने कुरा यो सरकारले सोचेको छ कि छैन ?’, उनले भने।

मगरले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै मुख्यमन्त्रीले संसदमा गरेको प्रतिबद्धता र आफूहरुसँग भएको सहमतिविपरित बजेट आएको बताए ।

‘सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यस्थापन गर्दा ध्यान दिनुपर्नेमा त्यसो नगरेको र प्रतिपक्षका सांसदहरुबाट आएको कार्यक्रमलाई छानिछानी हटाएको देखियो’ उनले भने, ‘सांसदले माग पेस गर्नुभयो तर इमानदार बन्ने हो कि बेइमान बन्ने भन्न मूल प्रश्न हो ।’

२४ भदौंमा तत्कालीन मुख्यमन्त्री हिक्मत काकीले ३६ अर्ब, ३४ करोड, ३५ लाख १० हजार बराबरको बजेट अध्यादेशमार्फत सार्वजनिक गरेका थिए । उक्त बजेटलाई शनिबार मुख्यमन्त्री केदार कार्कीले हेरफेर गर्दै ३६ अर्ब ७४ करोड भन्दा धेरैको बजेट प्रतिस्थापन विधेयक सदनमा दर्ता गराएका थिए । यो बजेट हिक्मत सरकारले ल्याएको भन्दा ५० करोड धेरैको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot