Logo

‘राज्यले गरेको हत्यामा यत्तिकै उम्किन पाइँदैन,गृहमन्त्रीले राजीनामा नदिएसम्म मृतकको आत्माले शान्ति पाउँदैन’



काठमाडौं,१६ पुस । गत शुक्रबार ललितपुरको बालकुमारीमा कोरिया भाषा परीक्षाबारे विवादमा आन्दोलनरत २ युवाले ज्यान गुमाएपछि सरकारको चर्को आलोचना भईरहेको छ । शुक्रबार बालकुमारमिा आन्दोलनरत विद्यार्थीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गर्दा प्रहरीको गोली लागेर अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको ज्यान गएपछि सांसदहरुले मन्त्रीको राजीनामा मागिरहेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रास्वपाकी सांसद डा.चन्दा कार्की भण्डारीले उक्त घटनामा नैतिक जिम्मेवारी लिँदै सम्बन्धित मन्त्रीले राजीनामा दिनुपर्ने बताएकी छन् ।

सांसद भण्डारीले विगतका उदाहरण प्रस्तुत गर्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा जोड दिइन् ।

“कृतिनिधि विष्ट, सूर्यबहादुर थापा, केशरबहादुर विष्टले नैतिकताको आधारमा राजीनामा दिएको उदाहरण छ,” उनले भनिन्, “कहिले पलाउँछ नैतिकता ? नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।”

युवाको असन्तुष्टि राज्यले नसुनेको उनको भनाइ छ । “अदालतले पनि बोल्दा किन राज्यले नसुनेको ? गृहमन्त्रीको नैतिकता खै ?,” उनले प्रश्न गरिन् ।

राज्यले गरेको हत्यामा गृहमन्त्रीले राजीनामा नदिएसम्म मृतकको आत्माले शान्ति नपाउने उनको जिकिर छ । “यो राज्यले गरेको हत्या हो । ईपीएसका कारिन्दा, पीएसओलाई देखाएर उम्कन पाउँदैन,” उनले भनिन्, “नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा नदिएसम्म मृतकको आत्माले शान्ति पाउँदैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot