Logo

‘गृहमन्त्री त्यो रहेन, जसले इमानको राजनीति गर्थ्यो, आउने पुस्ताले उदाहरणका रुपमा लिन्थ्यो’



काठमाडौं, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको चर्को आलोचना गरेका छन् । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर २ युवाले ज्यान गुमाएपछि पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले सरकार र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति आक्रोश पोखेका हुन् ।

बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था समितिको बैठकमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले कुनै समय इमानको राजनीति गर्ने नारायणकाजी श्रेष्ठ पदको लोभ गर्ने व्यक्तिमा रुपान्तररित भएको बताए । उनले भने, ‘गृहमन्त्री त्यो नारायणकाजी श्रेष्ठ रहेन, जसले इमानको राजनीति गर्थ्यो । जसको राजनीतिलाई आउने पुस्ताले उदाहरणका रुपमा लिन्थ्यो ।’

लामिछानेले नेतृत्वको गृह प्रशासनले विदेश गएर पेट पाल्न खोज्ने युवाको हत्या गरेको आरोपसमेत लगाएका छन् ।

‘गृहमन्त्रीज्यू तपाईं नेतृत्वको गृह प्रशासनले विदेशमा गएर पेट पाल्छु भनेको युवाको हत्या गर्‍यो’, उनले भने, ‘यो कुराको हेक्का राख्नुस्। प्रशासनले अब गम्भीरतापूर्वक तपाईंलाई लिँदैन। समुद्रमा हराएको टाइटानिक भेटिएला तपाईंहरुमा नैतिकता भेटिँदैन।’

प्रहरीले गृहमन्त्रीको भनाइ मान्न छाडेको भन्दै उनले यो सिङ्गो कनेक्सनमा गृहमन्त्री श्रेष्ठ प्रभावित बनेको बताए।

‘तपाईंलाई आदर्श नेताको रुपमा हेरेको हो, तपाईंको स्पिरिट प्रहरी प्रशासनले काम गर्न छाड्यो’, उनले भने, ‘नैतिकताको प्रश्न खडा भएको छ। म सिकारु राजनीतिज्ञले नैतिकता सिकाउने हैसियत त राख्दिन। तर गृह प्रशासन काम गर्न दिने अवस्थामा छैन।’

उनले गृहमन्त्री श्रेष्ठलाई तपाईं एउटा पदका लागि बस्ने मान्छे जस्तो नलागेको भए पनि दिनदहाडै मानिसहरूको मृत्यु भइरहेको बेलामा चुनाव हारेकै बेलामा राष्ट्रिय सभामा आइपुग्नु र गृहमन्त्री बन्नु राम्रो नभएको संकेत गरे।



प्रतिक्रिया दिनुहोस्

Screenshot