Logo

जनयुद्ध दिवसमा प्रचण्डलक्षित बाबुरामको टिप्पणी : कतिपय सत्ताको चास्नीमा झिंगा डुबे झैं डुब्झन्



काठमाडौं, १ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफुहरु चुनावदेखि चुनावसम्म र सत्तादेखि सत्ताको फोहोरी र भ्रष्ट राजनीतिमा लिप्त नहुने प्रण गरेका छन् । जनयुद्ध दिवसको अवसरमा शुभकामना दिँदै बाबुरामले यस्तो प्रण गरेका हुन्। उनले नेपाललाई संसारले इतिहासमा दुई पटक चिनेको पनि स्मरण गराएका छन् । त्योमध्ये एक जनयुद्ध भएको उनको दाबी छ ।

बाबुरामले राज्यहरु रहेसम्म जनक्रान्तिको कहिल्यै पनि अन्त्य नहुने भनेका छन् । उनले क्रान्ति भिन्न रुपमा निरन्तर अघि बढिरहने बताएका छन् । उनले कतिपय हिजोका क्रान्तिकारी थाक्छन् र कतिपय सत्ताको चास्नीमा झिंगा डुबेझैं डुबेको भनेरपनि टिप्पणी गरेका छन् । उनको यो टिप्पणी प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित छ । बाबुरामले जनयुद्ध दिवसलाई यसरी सम्झिएका छन्-

नेपाललाई संसारले इतिहासमा दुइ पटक चिनेको थियो!

पहिलोपटक, अठारौं/उन्नाइसौं शताब्दीमा गोरखा राज्य-विस्तार तथा वर्तमान नेपाल राज्य निर्माणको क्रममा, जतिबेला तत्कालीन विश्व महाशक्ति अंग्रेज उपनिवेशवादीहरूसंग लडेर संसारभर ‘वीर गोरखाली’ को परिचय बनेको थियो!

दोश्रो पटक, बिसौं शताब्दीको अन्त्य र एक्काइसौं शताब्दीको शुरू (२०५२ फागुन १ गतेबाट २०६३ मंसीर ५ गते) सम्म विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको सहभागितामा चलेको संसार हल्लाउने जनयुद्धको वेला, जसले एकात्मक राजतन्त्रात्मक नेपाली राज्यलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेको थियो!

त्यो ऐतिहासिक जनयुद्धमा सक्रिय सहभागी बनेर नयाॅ इतिहास निर्माण गर्न पाएकोमा सधैं गर्वको अनुभूति हुन्छ! त्यो महान् जनक्रान्तिमा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धासुमन तथा वेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान!

( यहाॅ संलग्न फोटो दश बर्षे जनयुद्ध शुरू गर्न भूमिगत हुनुभन्दा चार दिन पहिले कान्तिपुरसंग कुराकानीको क्रममा खिचिएको!)

परन्तु जनक्रान्ति राज्यहरू रहेसम्म कहिल्यै अन्त्य हुॅदैन! त्यो भिन्न रूपमा निरन्तर अघि बढिरहन्छ। कतिपय हिॅजोका क्रान्तिकारीहरू थाक्छन्, कतिपय सत्ताको चास्नीमा झिंगा डुबे झैं डुब्झन्! तर सत्य र न्यायको मार्गमा प्रतिबद्ध तथा मानवजातिको उन्नयन र जनताको सेवाको राजनीति गर्नेहरू निरन्तर क्रान्ति र परिवर्तनको मार्गमा लागिरहन्छन्!

त्यसैले जनयुद्ध दिवसमा नयाॅ प्रण गरौं- हामी चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको फोहोरी र भ्रष्ट राजनीतिमा लिप्त हुनेछैनौं! सुशासित,समुन्नत,समाजवादी नयाॅ नेपाल निर्माण गर्ने अभियानमा निरन्तर लागिरहनेछौं!



प्रतिक्रिया दिनुहोस्