Logo

सात जना महिला चलचित्रकर्मी सम्मानित



काठमाडौं, फागुन २४ । चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने सात जना महिला चलचित्रकर्मी सम्मानित भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा उनीहरुलाई सम्मानित गरेकी हुन्।

सम्मानित हुनेहरुमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल छन्। उनीहरुलाई जनही नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

सो अवसरमा मन्त्री शर्माले चलचित्र ऐन छिट्टै बन्ने जनाउँदै संस्थागत रूपमा बोर्डमार्फत सुझाव मन्त्रालयमा पठाउन आग्रह गरिन्। उनले भनिन्, ‘चलचित्र ऐनले महिलालाई चलचित्र विकास बोर्ड, चलचित्र जाँच समिति लगायतमा बलियो उपस्थिति गराउनेछ भन्नेमा म विश्वस्त हुन आग्रह गर्दछु। अब बन्ने कानुनले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य तयार गर्नेछ।’

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रमा क्रियाशील रहेका महिला चलचित्रकर्मीलाई हौसला प्रदान गर्न र आगामी यात्रामा हाम्रो साथ रहेको आभास गराउन सम्मानको कार्यक्रम तय गरेको बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot