Logo

मुलुकका लागि ‘कठिन’ समयमा मतदान गर्न पुटिनको रुसी जनतासँग आग्रह



मस्को, १ चैत । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकका लागि ‘कठिन’ समयमा आएको साताको अन्त्यमा हुने निर्वाचनमा मतदान गर्न रुसी जनतासँग बिहीबार आग्रह गरेका छन् । लामो समयसम्म सेवारत पुटिनले एक पटक पुनः सत्तामा आफ्नो पकड बलियो बनाउन चाहेका छन् ।

क्रेमलिनले पुटिन यसै साताको अन्त्यमा हुने निर्वाचनबाट अर्को छ वर्षको कार्यकाल सुरक्षित गर्न तयार भएको भन्दै निर्वाचनले युक्रेनमा रुसको आक्रमणपछाडि समाजको हात रहेको देखाउने बताएको छ ।

“म आश्वस्त छु स् हाम्रो मुलुक कस्तो कठिन अवस्थाबाट गुज्रिरहेको छ र हामी करिब सबै क्षेत्रमा कति जटिल चुनौतीहरूको सामना गरिरहेका छौँ भन्नेबारे तपाईंहरूले बुझ्नुभएको छ”, मतदानको पूर्वसन्ध्यामा रुसी जनतालाई सम्बोधन गर्दै पुटिनले भने, “उनीहरूलाई गरिमापूर्वक जवाफ दिन र कठिनाइहरू सफलतापूर्वक पार गर्न हामीले एकताबद्ध र आत्मविश्वासी बन्न जारी राख्नुपर्छ ।”

मार्च १५ देखि १७ सम्म हुने निर्वाचनमा हुने जितले उनलाई कम्तीमा सन् २०३० सम्म क्रेमलिनमा बस्न अनुमति दिनेछ । यो १८औँ शताब्दीमा क्याथरिन दि ग्रेटपछि कुनै पनि रुसी नेताको तुलनामा उनको शासन अवधि लामो हो ।

“म स्पष्टरूपमा भन्छु : आजको निर्वाचनमा भाग लिनु भनेको देशभक्ति भावनाको अभिव्यक्ति हो”, पुटिनले भने । उनले युक्रेनबाट हालै कब्जा गरिएका चार क्षेत्रका साथै सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमिया प्रायद्वीपमा पनि मतदान हुने बताए ।

रुसी नेताले भने, “मोर्चामा हाम्रा लडाकूहरूले पनि मतदान गर्नेछन्, उनीहरूले साहस र वीरता प्रदर्शन गर्दै मातृभूमिको रक्षा गर्नेछन् र निर्वाचनमा भाग लिएर हामी सबैका लागि उदाहरण स्थापित गर्नेछन् ।” निर्वाचन पूर्वकेजिबीका एजेन्ट (पुटिन) का लागि अत्यधिक आत्मविश्वासको समयमा आएको छ ।

युक्रेनमा रुसी सेनाले महिनौँमा पहिलो पटक युद्धक्षेत्रमा बढत हासिल गरेको छ र पुटिनका सबैभन्दा कट्टर आलोचक एलेक्सी नभाल्नीको गत महिना आर्कटिक कारागार कोलोनीमा मृत्यु भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्