Logo

प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता : ‘फेरि एकचोटी हामीले परिणामद्वारा जनताको भरोसा जित्नुछ’



काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब काम गरेर जनताको भरोसा जित्नुपर्ने बताएका छन् । उनले अहिलेको सत्ता समीकरणले पनि काम गर्न नसके देश अप्ठेरो अवस्थामा जाने टिप्पणी गरेका छन् । आज (मंगलबार) सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलको साझा संकल्प सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘यो समीकरण र यो संकल्पबाट पनि डेलिभरी भएन, जनतामा आशा जगाउन सकिएन, विकास गर्न सकिएन भने देश निकै नै अप्ठेरो अवस्थामा जाने खतरा छ, अहिलेको समीकरण म प्रधानमन्त्री पदमा रहिरहनका लागि नभएर नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने उद्देश्यले भएको हो ।’

सो क्रममा उनले कर्मचारीतन्त्रलाई पनि नयाँ ढंगले काम गर्न तयार हुन निर्देशन दिए । उनले भने,‘हिजोको घोषणा र आजको घोषणा, हिजोको परिस्थिति र आजको परिस्थितिमा फरक आएको छ । विकास र समृद्धिको यात्रा प्रारम्भ गर्दैछौं भनेर सेवा प्रवाह गर्नुपर्छ’, उनले भने, ‘फेरि एकचोटी हामीले कामद्वारा, परिणामद्वारा जनताको भरोसा जित्नुछ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्