Logo

मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदै



महोत्तरी, चैत १२ । यस वर्षको मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ । मिथिलाको महाकुम्भ पनि भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तर गृह परिक्रमा गरिएसँगै समापन हुन लागेको हो ।

मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा पारेर १३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर गरिने यो यात्राको अन्तिम कडी अन्तर गृह परिक्रमा हो । अन्तिम अर्थात् १५ औँ दिनको रात जनकपुरधामको रङ्गभूमि मैदानमा कटाएर १६ औँ दिन बिहान अन्तर्गृहअर्थात् पञ्चकोशी परिक्रमा गरिने परम्परा छ । मध्यमा यात्रामा यात्रीले नेपाल भारतका विभिन्न तीर्थस्थलमा १५ रात्रि बास गरेका छन् । जसमा नेपालतर्फ धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रातको बास परम्परा छ । फागुन औँसीका दिन सुरु भएको मध्यमा यात्रा आज टुङ्गिँदै छ ।

जनकपुरधामस्थित श्री राम जानकी मन्दिर, धार्मिक महत्वका तलाउ, विभिन्न मठमन्दिर र रङ्गभूमिलाई माझमा पारेर जनकपुरधामको पाँच कोश दूरीको वृत्तमा गरिने परिक्रमालाई अन्तर्गृहअर्थात् पञ्चकोशी परिक्रमा भनिन्छ । मध्यमा (माध्यमिकी) परिक्रमाका यात्रीले १६ औँ दिन बिहान यो यात्रा पुरा गर्छन् । घरव्यवहारको कामले समय निकाल्न नसकेर मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालु पनि अन्तर गृहमा सहभागी हुन्छन् । त्यसैले यस यात्रामा लाखौँको सहभागी हुँदै आएको छ । करिब आज मध्याह्नपूर्व सम्पन्न गरिने यस यात्रामा आज एक लाखभन्दा बढीको सहभागिता रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् (कोष) ले जनाएको छ ।

अन्तर गृह परिक्रमाले आत्मशुद्धि हुने, परमार्थ सुध्रने र पारिवारिक कल्याण भई अन्त्यमा मोक्ष प्राप्त हुने हिन्दू मैथिल जनविश्वास छ । अघि त्रेता युगमा श्रीराम जानकी जनकपुरधाम ओरीपरी विहार गर्नुभएको सम्झनामा यो यात्रा परम्परा सुरु भएको मानिन्छ । मध्यमा र आजको अन्तर गृह परिक्रमाका सहभागीले आज बिहानको यात्राकै क्रममा गए राति होलीका दहन गरिएको खरानी उडाउँदै फागु खेल्छन् । मिथिलामा परिक्रमाको १५ औँ दिनको रात ठाउँठाउँमा राक्षसी होलिकाको आकृति बनाइ त्यसलाई दहन गर्ने (आगो लगाउने) र भोलिपल्ट त्यो डढेको आकृतिको खरानी उडाउने चलन छ । यसमा आकृति दहन गर्नुलाई ‘होलिका दहन’ र खरानीको धुलो उडाउनुलाई ‘धुरा उडाउनु’ भनिन्छ । मिथिलामा धुरा उडाएपछि फागु खेल्ने परम्परा छ ।

धुरा उडाउने परम्पराभित्र दुई चलन छन् । एकथरि धुरा उडाएपछि फागु खेल्न थाल्छन् भने मिथिलाको मध्यमा परिक्रमा वृत्तभित्र भने धुरा उडाएको अर्थात् अन्तर गृह परिक्रमा गरिएको भोलिपल्ट फागु खेल्ने चलन छ । यसअनुसार मिथिलामा आज र भोलि दुवै दिन होरी (होली, फागु) खेलिने तयारी छ ।

मिथिलामा परिक्रमाको परम्परा त्रेता युगकालीन श्रीराम जानकीसँग जोडिएर गरिएको भनिन्छ । यद्यपि यसको समापनमा सत्ययुगकालीन भक्त प्रह्लाद, उनका राक्षस पिता हिरड्ण्कशिपु र राक्षसी फुपू होलीका दहनको कथा पनि जोडिन्छ । हिरड्यण्कशिपुले विष्णुभक्त छोरा प्रह्लादलाई मार्न आगोले नजल्ने वरदान पाएकी बहिनी होलिकाको काखमा प्रह्लादलाई राखेर आगो लगाउँदा प्रह्लाद ध्यान मुद्रामा रहेका र होलिका डढेर भष्म भएकी कथा यहाँ जोडिएको प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउँछन् ।

रामायण वा सत्ययुगकालीन सबै घटना जोडिएर यी कथाले मान्छेलाई सत्कर्ममा लाग्न अभिप्रेरित गरेको पाका मैथिलको मत छ । तसर्थ राक्षसी वा दुष्ट प्रवृत्तिविरुद्ध सत्य र न्याय स्थापित भएको खुसियालीमा फागु पर्व परम्परा चलेको मैथिल परम्पराका जानकार बलवा–१० धमौराका कामेश्वर झा बताउँछन् । रासस



प्रतिक्रिया दिनुहोस्