Logo

आफ्ना विरोधीलाई तह लगाउनमात्रै रवि लामिछाने गृहमन्त्री बनेको पुष्टि भयोः मीन विश्वकर्मा



काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्ना विरोधीहरुलाई तह लगाउनमात्रै गृहमन्त्री बनेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछाने सुशासनका लागि भन्दा पनि आफ्नो बचाउ र विरोधीलाई तह लगाउने भावनाले गृहमन्त्री बनेका बताएका हुन् । लामिछानेले कुनै दल विशेषलाई प्रतिशोध साँधेर काम गरिरहेको उनको आरोप छ ।

‘देशको मन्त्री अथवा गृहमन्त्रीले कुनै दल विशेषलाई प्रतिशोध साँधेर थुन्न सकिन्छ, मैले चाहेँभने थुन्छु, अथवा मैले चाहिँन भने थुन्दिन भन्नुनै व्यक्तिवादी सोच हो । त्यो प्रतिशोधपूर्ण छ । उहाँ सुशासनका लागि भन्दा पनि आफ्नो बचाउ गर्नका लागि र आफ्नो विरोध गर्नेहरुलाई तह लगाउनका लागि गृहमन्त्री हुनुभएको हो भन्ने कुरा त पुष्टि भइसकेको छ,’– उनले भने ।

कांग्रेसले यस्ता प्रकारका प्रतिशोध साँध्नेहरु राणा र माओवादीसँग प्रतिवाद गरेको स्मरण गराउँदै उनले अब त्यही लाइनमा रास्वपा हिँडेको आरोप लगाए । कांग्रेसले व्यक्तिगत इगोका कारण प्रतिशोध साँध्नेका विरुद्ध प्रतिवाद गर्ने र यो परिस्थिति धेरै लामो समय नजाने बताए ।

‘यस्तो पूर्वाग्रह साध्नेहरु, हिजो कहिले राणाले साँधे, कहिले माओवादीले साध्यो, अब रविजी देखा पर्नुभएको छ । यो धेरै दिनसम्म भन्न सकिने र गर्न सकिने कुरा होईन । यसको बारेमा नेपाली कांग्रेसलाई राम्रै ज्ञान छ । कांग्रेसले त्यही ढंगले प्रतिवाद गर्नसक्छ,’– उनले भने ।

नेता विश्वकर्माले आफूलाई आरोपको भारीले थिचेको अवस्थामा पनि लामिछानेले विभिन्न आरोप–प्रत्यारोप गरिरहेको बताए । लामिछानेको यस प्रकारको अभिव्यक्ति, क्रियाकलाप र प्रवृत्ति गृहमन्त्री पदका लागि सुहाउँदो नभएको उनको धारणा छ । क्षणिक न्यानोका लागि लामिछानेले देश र गृहमन्त्री पदको भरपूर बदनाम गरेको उनको आरोप छ ।

‘जसलाई आरोपको भारीले थितेको छ । आरोपको भारीको मुनीबाट चिहाएर ज–जसले आरोप लगाए भन्ने लागेको छ । तिनीहरुलाई तथानाम गाली गर्दैछन् ।’ उनले भने, ‘यो गृहमन्त्रीको पदसँग सुहाँउने वाक्यांश र प्रवृत्ति, क्रियाकलाप होईन । यसले उनलाई क्षणिक न्यानो त होला तर देश र मन्त्रीको पदको भरपूर बदनाम गरेको देखिन्छ ।’



प्रतिक्रिया दिनुहोस्