Logo

एमालेले रवि लामिछानेको ग्यारेन्टी लिएको छैनः विष्णु रिजाल (भिडिओसहित)



काठमाडौं, १३ चैत । नेकपा (एमाले) का नेता विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सैद्धान्तिक एजेण्डाप्रति आफूहरुको विमती रहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछानेले राजनीतिलाई सस्तो लोकप्रियताको विषय बनाउन खोजेको आरोप लगाएका हुन् ।

लामिछानेको सस्तो पपुलिज्मप्रति एमाले असहमत रहेको उनले बताए । नेता रिजालले रास्वपा गठबन्धनमा हुनुको अर्थ रवि लामिछानेका तमाम गलत काम स्वीकार गरेको रुपमा बुझ्न नहुने बताए । उनले एमालेले रवि लामिछानेको कुनै ग्यारेन्टी नलिएको दाबी गरे ।

‘उहाँले सस्तो लोकप्रियताको विषय बनाउन खोज्नु भएको छ । त्यसमा हाम्रो सख्त विमती छ । उहाँहरुले जनमतलाई दिग्भ्रमित पार्ने, जनमतलाई निराश बनाउने र उद्देलित बनाउने कोशिस गर्नु भएको छ । त्यो तरिका बेठीक छ । सस्तो लोकप्रियता हो । त्यो पपुलिज्म हो ।’ उनले भने, ‘हामी त्यस कुराप्रति असहमत छौं । हामीले रवि लामिछानेसँग कार्यगत एकता र गठबन्धन गरेको होईन । राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सिटसँग गठबन्धन गरेको हो । रवि लामिछानेसँग हाम्रो गठबन्धन एउटै हुनुको अर्थ उनको तमाम गलत कुरालाई स्वीकार गरेको होईन । हामीले रवि लामिछानेको कुनै ग्यारेन्टी लिएको पनि होईन ।’



प्रतिक्रिया दिनुहोस्