Logo

सूर्यदर्शन सहकारी ठगीबारे प्रहरी महानिरीक्षकको ब्रिफिङ, ‘सबै समस्याको जड जिबी’



काठमाडौं, १४ चैत । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले मलेसियासँग सुपुर्दगी सन्धि नहुँदा सहकारी ठगी मुद्दामा फरार रहेका जिबीलाई पक्राउ गरेर ल्याउन गाह्रो भएको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरी संगठनमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगीको मुख्य व्यक्ति जीवी राई नै रहेको बताए । साथै, सबै समस्याको जड नै जिबी भएको उनको दाबी छ । प्रहरीले यस घटनामा संवेदनशील भएर काम गरिरहेको उनको भनाइ छ । ‘सबै इस्यूको जड त्यही मान्छे हो, उनलाई ल्याउने प्रयास गरिरहेका छौँ,’– कुँवरले भने ।

राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी भइसकेको बताउँदै उनले सुपुर्दगी सन्धि नहुँदा उनलाई डिपोर्ट गर्न मलेसिया सरकार बाध्य नभएको कुँवरले बताए ।

महानिरीक्षक कुवँरले विभिन्न समस्याकाबीचमा पनि परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासले पनि उनको बारेमा गम्भीर चासो लिएर काम गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्