Logo

देश गम्भीर संकटमा फस्यो, प्रदर्शनकारीहरु गोली खान पनि तयार देखिएः सिके राउत (भिडिओसहित)



काठमाडौं, ५ वैशाख । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले देश आर्थिक, राजनीतिक रुपमा गम्भीर मोडमा पुगेको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देश केही समयदेखि आर्थिक रुपमा संकटमा रहेको भएपनि अब राजीतिक रुपमा पनि संकट देखा परेको दाबी गरेका हुन् ।

‘देश अहिले राजनीतिक, आर्थिक रुपमा निकै गम्भीर मोडमा पुगिसकेको छ । आर्थिक रुपमा त थियो नै केही वर्षदेखि, यतिसम्म थियो कि ऋण नै तिर्न नसक्ने अवस्था थियो । तलब नै खुवाउन नसक्ने, विकासका नयाँ योजनाहरु नै ल्याउन नसक्ने अवस्थामा हामी पुगिसक्यौं,’– उनले भने ।

राजनीतिप्रति देखिएको आक्रोश अब संगठित भएर सडकमा आएको उनको भनाइ छ । उनले काठमाडौंका निधेषित क्षेत्र तोड्ने र सिंहदरबार घेर्नेसम्मका प्रदर्शन भइरहेको भन्दै युवाहरु अब गोली खान पनि तयार देखिएको बताए । त्यस्तो प्रदर्शन २०÷२५ दिनमात्रै भइदियो भने व्यवस्था नै हल्लिने उनको भनाइ छ ।

‘केही समयअघि मान्छे अलि आक्रोशितमात्रै हुन्थे । अहिले त्यो आक्रोश सडकमा संगठित भएर देखा परेको छ । पछिल्लो चरणमा काठमाडौंमा जुन प्रदर्शनहरु भए, पहिला त म त्यति गम्भीरतापूर्वक लिन्नथेँ । काठमाडौंमा निषेधित क्षेत्र तोड्दै, सिंहदरबारको अगाडि, मन्त्री क्वार्टर घेराउ गर्ने गतिविधि देखियो । त्यसले देशलाई नै गम्भीर रुपमा पुर्याएको छ,’– उनले भने ।

नेताहरुले अझ पनि आफूलाई सच्याएनन् भने निकट भविष्यमै गणतन्त्रमाथि संकट रहेको उनको दाबी छ । आक्रोशित जनताको अगाडि राज्यसँग रहेका सेना र प्रहरीको केही नलाग्ने उनको भनाइ छ ।

अहिलेको व्यवस्थाका पात्रबाट आजित भएर जनताले तानाशाही व्यवस्थामै फर्किनुपर्ने माग उठाउन थालेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्