Logo

रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद् चल्न सक्दैन: सिटौला



काठमाडौँ, २८ वैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारीको रकम अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा दलका तर्फबाट धारणा राख्दै नेता सिटौलाले उक्त समिति गठन नभए सदनका बैठक सञ्चालनमा सहजता नआउने स्पष्ट गरे ।

“संसदमा पटक–पटक संसदीय छानबिन समिति गठन गरौँ भनेर कुरा उठाउदै आएका छौँ”, उनले भने, “जहाँनिर शक्ति छ त्यहाँ छानबिन बन्द छ । गृहमन्त्रीको राजीनामा मागिएको छैन । कुरा उठेपछि वास्तविकता थाहा हुनुपर्छ ।”

उनले आफ्नो पार्टीको संसदीय दलको निर्णय पनि गृहमन्त्रीमाथिको छानबिन समिति बनाउनुपर्छ भन्ने रहेको बताउँदै समिति गठन नभए संसद् बैठक अघि बढ्न नसक्ने बताए । “सरकारले छिट्टै सहमतिका आधारमा छानबिन समिति बनाउँछ भन्नेमा हामीलाई विश्वास छ,” उनले भने ।

संसदीय छानबिन समिति बनाउनु हुँदैन भन्ने अडानमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै बाधक बनिरहेको जिकिर गर्दै उनले महान्यायाधिवक्ताले इतिहासमै नभएको सरकारका मन्त्रीलाई क्लिन चिट दिने काम गरेको भन्दै आपत्ति जनाए।

‘हामीले राजीनामा पनि मागेका छैनौँ। संसदीय छानबिन समिति बनाऔँ, सत्तापक्ष तपाईंहरू नै हुनुहन्छ भनेका छौँ। छानबिन समिति बनाउनु हुँदैन भन्नेमा सबैभन्दा पहिला त म गृहमन्त्री नै देख्दछु,’ सिटौलाले भने, ‘अर्को समस्या त महान्यायाधिवक्ता। आजसम्म इतिहासमा नभएको घटनामा जुडिसियरी पनि सामेल भएको देखियो। महान्यायाधिवक्ताले कसैलाई क्लिनचिट दिँदै हिँड्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot