लक्ष्मण गाम्नागे : आजै जाऊँ कि भोलि जाऊँ भन्ने द्विविधा भयो निकैबेर । भैगो आजै जान्छु भनेर दिउँसोको चिया खाइवरी २ बजेको समयमा म घरबाट निस्किएको हुँ ।
हिँड्दै गर्दा छोराले बोलायो,— “बाबा !”
मैले भनेँ,— “ल, ल, मिलेछ भने ल्याउँला ।”
उसले भन्यो,— “मैले केही भनेकै छैन, के ल्याउँला ?”
“हिँड्ने बेलामा तैंले के भन्छस् भन्ने मलाई थाहा छैन र ?”—मैले ढुक्कसँग भनेँ ।
उसले भन्यो,— “तर त्यो खुट्टेरोटी बोकेर चाहिँ नआउनू है ।”
“तँलाई दिनैपिच्छे पिज्जा पाए खुशी हुन्थिस् होला ।”
“दिनैपिच्छे अरे ! एक महिनामा एकपटक पनि ल्याउनुभएको छैन । कति खानु हो त्यो रोटी, चिउरा, बासीभात, पाउरोटी । वाक्क !”
उसका कुरा एक कानले सुनेर अर्कोले उडाउँदै मैले भर्याङे ढोकाको ताला लगाएर चाबी भित्र हुर्याएँ । गाडी लिएर जाऊँ कि स्कुटी लिएर जाऊँ भनेर एकछिन अलमलिएँ ।
पानी पर्न लागेको देख्दा गाडी लिएर हिँड्नु जस्तो, पार्किङको समस्या सम्झिँदा स्कूटी नै ठिक जस्तो । कहिलेकाहीं त गाडी राख्ने ठाउँ खोज्दाखोज्दै घरै आइपुगिन्छ । स्कूटीमै जाने निधो गरेँ ।
म निस्कँदै गर्दा छोराले झ्यालबाट मुन्टो निकालेर करायो,— “बाबा, मुसाको औषधी नलिई घर नआउनु है ।”
मुसाले निकै दिनदेखि हैरान बनाएको छ । २०७७ सालभित्र उसको यो दोश्रो चरणको उपद्रो हो । वैशाखमा पहिलो चरणको उपद्रो सम्पन्न गरेको थियो । एउटा सप्रिएको एभोगाडो जत्रो मुसो घरमा पसेर खानेकुरा देखि सिरक डसना र सिरानेसमेत खाएर ठूलै नोक्सानी गरेको थियो । त्यो बेला एउटा अनलाइन कम्पनीले मुसा भगाउने ग्यारेन्टी सहितको आयुर्वेदिक औषधी भनेर नेटमा विज्ञापन राखेको आधारमा दुई शिशी औषधी किनेर गन्ध फैलाउने काम गरेँ । केको मुसा भाग्नु ! ठगका फेला परिएछ ।
कृष्ण अविरल भतिजकोमा एउटा धराप रहेछ, त्यो ल्याएँ । धरापमा नरिवलको टुक्रा अल्झाएर कहिले मुसामार्गमा कहिले आधारक्षेत्रमा एम्बुस थापेँ चारपाँच दिनसम्म, तर मुसो परेन । नाथे नरिवलमा के जात फाल्नु भनेर परपरै तर्किएको हो कि भन्ने लागेर एकरात मासुको सानो टुक्रा धरापमा अल्झाइदिएँ । त्यही रात बड्याँङ्ग आवाज आएर म झस्याङ्ग भएँ । ‘आज चाहिँ भेटिस्’ भन्दै उठेर हेरेँ । लौ, धराप त डिस्पोज भएछ तर मुसो च्यापिएनछ, भागेछ । पार नलाग्ने भो भन्दै म सुतेँ । तर त्यो घटना भएपछि घरमा मुसो आएन । न धरापले लागेर घाइते भएर कतै गएर मर्यो वा तर्सिएर सातो उडेर वेपत्ता भयो । ढुक्क भयो ।
त्यो ढुक्क ढुक्कै रहेन, तीन महिनामै भङ्ग भयो । पन्ध्र दिन जति भयो, फेरि मुसाले उधुम गरिरहेको छ । लुगा थन्क्याएको दराजको टाउकामा मुकाम बनाएछ । सिमलका गेडा खूब मन पराउँदो रहेछ । सिमलको भुवावाला सिरानेका आन्द्राभुँडी निकालेर छाडेछ । राति विभिन्न कोठामा जबरजस्ती घुस्ने उपक्रममा ढोकामुनिको कार्पेट काटेर धुजाधुजा बनाइरहेको छ ।
छोरो हरेक बिहान उठेर मसँग रिसाउँछ । राति मुसाले सुत्न दिएन भन्छ र बिहान दश बजेसम्म उठ्दैन । मुसाको उपद्रोबाट आजित भएर मैले आजको यात्रा तय गरेको हुँ असनसम्मको । अन्यत्र पनि मुसाको औषधी पाइन्छ होला तर उहिल्यैदेखि थाहा पाएको ठाउँ असन । उपत्यकाको शायद सबैभन्दा प्राचीन बजार । त्यहाँ गएपछि फरक पर्दैन भनेर म त्यता लागेको हुँ ।
डिल्लीबजारतिर पुगेपछि द्वीविधा भयो, स्कूटी लिएरै असनतिर जाऊँ कि भृकुटीमण्डपतिर राखौँ ! के गरौँ के गरौँ हुँदाहुँदै पुतलीसडक चोक पुगिहालियो । सीधा अगाडि जाने बाटो खुलै भएकोले सोझै बागबजारतिर लागेँ । बागबजार सडकको पल्लो छेऊतिर देब्रेतिर साइड लगाएर स्कूटी राखेँ र असनलाई लक्ष्य बनाएर पैदलै अगाडि बढेँ । आकाशे पुल चढेँर झरेँ । अलिअलि स्याँस्याँ भयो । नहिँडेर बानी बिग्रिएछ, उमेरले भर्याङ चढेर पनि होला ।
रत्नपार्कमा ऊ त्यहाँनिर एउटा होटल थियो, रिमझिम । त्यहाँ दर्जनौं पटक समोसा र रसवरी खाइएको थियो । अहिले माइक्रोबसको पार्क छ । उतापट्टि सानो बगैँचामा गणेशमानजीको शालिक । वास्तविक लौहपुरुष गणेशमानजी । उनीतिर हेरेर मनमनै झुकेँ र अगाडि बढेर फेरि आकाशे पुलछेउ पुगेँ । यताको पुलछेउमा गणेशजीको मन्दिर छ । यो मन्दिरको कुनामा उहिले एकजना माइला दाइ भन्नेको पत्रिका पसल थियो । तिनी पत्रिकाको होलसेल बिक्री गर्थे । मैले पनि तिनलाई शुरुमा ‘रकेट’ र पछि ‘चड्कन’ भन्ने पत्रिका बेच्न दिएको थिएँ । उपत्यकाभरि उनैले बेच्थे । राम्रो बिक्री भएको थियो पत्रिका । अन्तिमको एक अंकको पैसा उठाउन सकिएन । पछिल्लो अंक छापेर जिम्मा लगाएपछि अघिल्लोको पैसा भुक्तानी गर्ने शर्त थियो, हामीले अर्को अंक निकाल्न नसकेपछि हिसाब नै हरायो । माल्दाइ अल्पायुमै बिते ।
मनमनै माल्दाइप्रति भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दै म फेरि आकाशे पुलको भर्याङ उक्लिन थालेँ । रानीपोखरीतिर पुलुक्क हेरेँ, यसको पुनर्निमाण कार्य करिब सकियो भन्ने सुनेको छु । बर्खाको पानी जमेको रहेछ । अब केही समयमा टिलपिलटिलपिल रानीपोखरी पहिलाको भन्दा सुन्दर स्वरुपमा देख्न पाइएला नि त ।
यता आउँदा जहिले पनि स्वतः आँखा जाने ठाउँ दरबार हाई स्कूल हो । मैले एक वर्ष यो ऐतिहासिक स्कूलमा पढ्ने अवसर पाएको थिएँ । बडो गौरव लाग्छ । यसलाई बहत्तर सालको भूकम्पले ध्वस्त बनाएको थियो । यसको पुनर्निर्माण भयो । अहिले यसले प्राप्त गरेको भव्यता देखेर यसैयसै मन गद्गद् भयो । हाम्रा पुराना ऐतिहासिक, पुरातात्विक संरचनाहरूले यस्तै सुन्दर रूप धारण गर्न पाउन् ।
दरबार हाईस्कूल पढ्दा एकपटक श्रीमान् गम्भीर…को लाइनमा विद्यार्थीहरूबिच घँचेडाघँचेड भएर म लडेको थिएँ । मेरो देब्रे हातको कुइना बेस्सरी ठोक्किएको थियो । म बेहोश भएँछु । मलाई एकजना सर र दुईतीनजना विद्यार्थी साथीहरूले झ्यानाकुटी पारेर वीर अस्पताल लगेछन् ।
अघिल्लो वर्ष भाँचिएको हातमा ठक्कर खाँदा दुखाइ खप्न नसकेर म बेहोश भएको रहेछु । एकछिनमा ठिक भएर स्कूल फर्किएको थिएँ । दरबार हाईस्कूल मनमा आउँदा दाहाल यज्ञनिधि सर स्वतः सम्झनामा आउनुहुन्छ । उहाँले त्यो बेला नेपाली पढाएको आवाज अहिले पनि कानमा गुन्जे जस्तो लाग्छ । पछि मैले लक्ष्मण गाम्नागे भइसकेपछि उहाँलाई हजुर त मेरो गुरु पनि हो नि भनेर सुनाउँदा ‘आहो मैले तपाईँलाई पनि पढाएँ हगि !’ भनेर खुशी हुनुभएको थियो । पछिपछि त हाम्रो आत्मीयता गाढा भइहाल्यो ।
उहाँले छाडिगएको पनि केही वर्ष भइसक्यो ।
म छिरेँ भोटाहिटी हुँदै असनतिर । कोरोनाले गर्दा होला यतातिर भिडभाड छैन रहेछ । आजको यात्रा यहीँ असनसम्मको थियो, त्यसैले निकै बेर यताउता घुमेँ, उभिएर वरिपरि हेरें । कस्तो दोकानमा पाइँदो हो मुसाको ओखती भनेर विचार गरेँ । एकजना बूढा मान्छे तरकारीका बिरुवा, बिऊ बेच्न बसेका रहेछन् । उनैलाई सोधेँ, “मुसा मार्ने औषधी कहाँ पाइन्छ दाइ ?”
उनले भने,— “गहुँ कि धुलो ?”
मैले भनें,— “हैन, मैले गहुँ अथवा पिठो खोजेको होइन, मुसा मार्ने औषधी भनेको ।”
“त्यही त भनेको, एकथरि धुलो पाइन्छ, एकथरि गहुँका दानाजस्तो पाइन्छ । कुन लाने ? धुलो खानेकुरामा हालेर राख्ने, गहुँ मुसा आउने बाटामा छरिदिने । धुलो खाएर मुसो कुनाकानीमा गएर मर्छ, गहुँ खाएर चाहिँ घर बाहिर गएर मर्छ ।”
कुरा बुझेर मैले गहुँ ओखती लिएँ र झोलामा हालेँ । लौ काम त सकिई पो हाल्यो । अब फर्किने त ? यसो विचार गरेँ, यति छिट्टै के फर्किहाल्नु ! बरु एकछिन वरपर घुम्नु पो पर्यो, कस्तो भएछ काठमाण्डू शहर हेर्नुपर्यो ।
उहिले उहिले त यही असन इन्द्रचोक वरपरलाई त शहर भन्थे अरे नि ! अनि म लागेँ असनबाट इन्द्रचोक हुँदै विशालबजारतिर । बिस्तारै बिस्तारै दायाँबायाँका पसलहरू हेर्दै, पसलेहरूलाई आशा देखाउँदै, झुक्याउँदै म विशालबजार पुगेँ । पश्चिम ढोका बन्द रहेछ ।
दक्षिण ढोकामा सेक्युरिटी गार्डले हातमा सेनिटाइजर पितिक्क पारिदियो, दलदाल पार्दै म सोझै शौचालयतिर हानिएँ । शौचालयमा छिरेपछि मलाई पुराना दिन याद आए । दरबार स्कूलबाट मन्जुश्रीटोल वा ब्रह्मटोलको डेरा फर्किने नियमित बाटो यही थियो मेरो । भोटाहिटीबाट असन, इन्द्रचोक, विशालबजार, धर्मपथ, जैसीदेवल हुँदै । ऊबेला म अलि पिलन्धरे नै थिएँ क्यारे । पेट धेरै गडबड गरिरहन्थ्यो । स्कूल जाँदा भन्दा पनि फर्किँदा बढी आपत पर्थ्र्यो । स्कूलको शौचालय पसिनसक्नु हुन्थ्यो । त्यसमा पनि पानीको बन्दोबस्त पनि हुन्थ्यो कि हुँदैनथ्यो कुन्नि !
पेटले गडबड गरेका दिन म क्लास सकिनेबित्तिकै दौडिन्थेँ । बेलाबेला बाटोमै उभिएर जिऊ बटार्दै थाम्दै कसो कसो विशालबजारको यही शौचालयमा पस्थेँ, बस्थेँ र अद्भूत शान्ति प्राप्त गर्थें । त्यो बेला पिसाब गरेको पैसा लाग्दैनथ्यो जस्तो लाग्छ, दिशा गरेको एक मोहोर तिर्नुपर्थ्र्यो । त्यति पैसा पनि साथमा नहुँदा भने जसरी पनि डेरा पुग्नैपर्थ्र्यो । यो शौचालयमा बेलाबखत छिर्न थालेको पनि आज चार दशक नाघेछ । यति लामो भावनात्मक सम्बन्ध छ मेरो यो शौचालयसँग । असन, इन्द्रचोक, भोटाहिटी, रानीपोखरी, रत्नपार्क, बसन्तपुर, जैसीदेवल, लगनटोल, ब्रह्मटोलÒ यिनीहरूसँग पनि त्यस्तै । मेरो जन्मस्थल पहाडभन्दा पनि, हुर्केबढेको झापाको गौरादहभन्दा पनि यी ठाउँहरूले मलाई बढी चिन्छन् ।
शौच शुल्क रु. पाँच तिरेर म विशालबजारबाट अघि बढेँ, बसन्तपुरतिर ।
०७२ सालको भुइँचालोले सातो उडाएको पृथ्वीनारायणको नासो नौतले दरबारको जीर्णोद्धार भइरहेको रहेछ, करिब करिब अन्तिम चरणतिर पुगेको हो कि ! यो तयार भएपछि फेरि नौतलामाथि चढेर बसन्तपुरतिर हेरौँला ।
बसन्तपुरमा मान्छेहरूको चहलपहल शून्य जस्तै छ । न चोकभरि क्युरियोको बिस्कुन न पर्यटकको हूल ।
म हनुमानढोकापट्टि लागिनँ, सिधै अगाडि बढेँ, किनभने मनमा अर्कै तरङ्ग आयो । बसन्तपुरबाट काष्ठमण्डपतिर निस्कने भित्ताको एउटा सानो कवलमा उहिले दूध र हलुवा पाउरोटी खूब खाइन्थ्यो, यो चाहिँ ४२÷४३ सालपछिको कुरा । त्यो सानो चेपे कोठामा अहिले पनि सेल तरकारी, चप, पकौडा पाइने दोकान चलिरहेकै रहेछ । हेरेँ मात्र खाइनँ ।
त्यहीँ थियो एक विशाल देवल । भाजुदेवल कि के नाम हो यसको । देवलमा घण्टौँ बसेर रमिता हेरिन्थ्यो । यसलाई पनि भूकम्पले भत्काएको थियो, अहिले ठड्याउने काम हुँदै रहेछ । मिलिक्कै अगाडि आइपुग्यो काष्ठमण्डप ।
भूकम्पले माटोमै मिलाएको काष्ठमण्डप पनि बिस्तारै बिस्तारै उठ्दै रहेछ । उठोस्, उठ्नैपर्छ । काठमाण्डूको शान नै हो नि काष्ठमण्डप । भूकम्पले कति हल्लाएछ त काठमाण्डूलाई । आज पाँच वर्ष नाघिसक्ता पनि अझै ठस्ठस् कन्दैछ, उठ्न सकेको छैन ।
मेरा पाइला स्वतः दक्षिणतिर लाग्ने सडकतर्फ सोझिए । म पुगेँ मन्जुश्री टोल । म उपत्यकामा पसेर बसेको पहिलो टोल, २०३६ मा । एउटा तलामा एउटा कोठाका दरले ६ कोठे घर थियो ६ तले । हामी (दाजु डा. गोविन्दराज भट्टराई र म) तेश्रो वा चौथो तलातिर बस्थ्यौँ । काठको ठाडो भर्याङ । भुइँतलाबाट पानी बोक्नुपर्ने । मन्जुश्री टोलको त्यो घर मैले आज खुट्याउन सकिनँ । शायद भत्किसक्यो होला ।
घर खुट्याउन नसकेपछि म जैसीदेवल पुगेर एकछिन उभिएँ । जैसीदेवललाई हेरेँ । मैले सुनेको, कतै पढेको, यतै वरिपरि कतै प्रसिद्ध कवि ईश्वरवल्लभकी आमा राममायाले आत्महत्या गर्नुभएको थियो रे ।
कति दुखद् घटना । यो जैसीदेवल ईश्वरवल्लभकी आमाभन्दा कहिले हो कहिले उहिले जन्मेको । भूकम्पले माटोमै मिलाएको थियो । यसलाई फेरि जगाइँदै छ, फेरि ठड्याइँदै छ । तर मान्छे मरेर गएपछि गयो गयो । यही ठाउँमा आत्महत्या गरेकी ती माता फेरि कहिल्यै फर्किइनन् । ईश्वरवल्लभ पनि गए, फर्किएनन् । मान्छेलाई पुनर्निमाण गर्न पनि नसकिने, रेक्टोफिटिङले पनि नथाम्ने । हामी सबै ढल्छौँ हगि एक दिन ? यो जैसीदेवल यहीँ हुन्छ तर हामीले यसलाई हेर्न पाउँदैनौँ । कस्तो विस्मात् !
हैट्, यस्ता फन्टुस कुरा पनि के सोच्नु हो भन्दै म टाउको झड्कारेर ब्रह्मटोलतिर लागेँ । मन्जुश्री टोलको धरहरे घरबाट हामी दाजुभाइ ब्रह्मटोलमा सरेका थियौँ । दमकबाट भाइ खगेन्द्र पनि हामीसँग मिसिन आइपुगेका थिए । दरबार हाइस्कूलमा
चार कक्षामा भर्ना भएर मेरो स्कुल जाने आउने साथी बनेका थिए । हामी डेरा बसेको घरमा पुग्न सडकबाट एउटा च्याप्टे ढुङ्गामा टेकेर ढोकाबाट छिर्नुपर्थ्र्यो । भित्र चोक थियो । एकदम चिसो, फोहोरी चोक । हामी एकतला माथि बस्थ्यौं । भुइँतलामा शौचालय थियो । शौचालयमा छिरीसक्नु हुँदै नथ्यो, दुर्गन्धले । गोविन्द दाइले त्यही शौचालयको वर्णन गर्दै एउटा कविता लेख्नुभएको थियो त्यहाँ बस्दा । त्यसको पहिलो श्लोक यस्तो थियोः
म पसेँ झ्याल ठोकेर नाक छोपी रुमालले
कुप्री पर्दै परैदेखि सास रोकेर चालले
नर्ककुण्ड गनाएर झिँगा भुनभुन हे हरि !
अँध्यारो छ यहाँ औंसी निस्कनु अब के गरी ।
त्यो दुर्गन्धबाट मुक्तिका लागि भाइ खगेन्द्र र म भने उता टेकु दोभानमा गएर विष्णुमती किनारालाई मलिलो बनाएर आउँथ्यौँ । हामी केटाकेटीलाई लाज पचाउन अलि सजिलो । त्यसरी बसेको त्यो घर शायद अहिले छैन होला, किनभने त्योबेलै पुरानो थियो । भित्र छिर्दा टेक्ने चेप्टे ढुङ्गो अहिले रहेनछ । ढोकामा खापा थिएन त्यो बेला, अहिले खापा लागेछ ।
भित्र पसेर एकफेर हेर्ने इच्छा त भयो तर ढोका बन्द रहेछ । अनि म लागें लगनटोल हुँदै सुन्धारातिर । सुन्धारा छेउ आइपुग्दा ज्यान अलि थरथराए जस्तो भयो । मेरो रक्तचाप प्रायः तलतलै बसिरहन्छ । प्रेसर घटेको शंका लागेर एउटा फलफूल पसलमा पसेर एक गिलास जुनारको जुस बजाइदिएँ । सरर सन्चो दौडियो भित्र कतै ।
यसो बाहिर गएर केही खायो कि पट्के छोराछोरीको सम्झना आइहाल्ने । अनि दुई गिलास लस्सी बनाउन लगाएर झोलामा हालेँ र धरहरा छेउ आएर एकछिन टोलाएँ ।
धरहरा पनि धमाधम अग्लिँदै रहेछ । खुशी लाग्यो । हामी पुरानो धरहरा देखेकाहरूलाई नयाँ धरहरा नक्कली लाग्नसक्छ तर भविष्यमा यसको पनि उत्तिकै महत्त्व बढ्दै जानेछ भन्ने मलाई लाग्छ । यो बनिसकेपछि फेरि चढिनेछ । त्यो दिन छिटै आउला ।
त्यहाँबाट अगाडि बढेर यसो दाहिनेपट्टि छड्के आँखाले हेरेँ । सोझै हेर्दा कसैसँग आँखा जुधिहाल्ला कि भन्ने डर नि ! २०४४ सालमा मैले जागिर खान थाल्दाको अड्डा- दूरसञ्चार । संयोगवश उपत्यकामा अन्तिम जागिर खाएको कार्यालय पनि यही भयो २०७२ सालमा । अफिसमा छिर्नु हो भने साथीहरू खुशी नै हुन्छन्, तर बिनाकाम कसैसँग भेटघाट गर्न मलाई मनै लाग्दैन । मेरो अन्नदाता दूरसञ्चारलाई मनमनले नमस्कार गर्दै म अघि बढेँ । यसैका कारण त आज म यसरी बिन्दास भएर काठमाडौंका गल्लीमा जुस पिएर घुम्दैछु ।
फोटो खिच्दा अचानक मेरा आँखाले गोश्वारा हुलाकलाई देखेनन् । लौ हुलाकको त नामनिशानै पो छैन रहेछ । त्यहाँ त खाडल खनेर अर्थोकै केके जाति रोपिँदै रहेछ । धरहरा फैलिएको होला । सहिदगेट हुँदै भद्रकाली मन्दिर छेऊ पुग्दा मलाई पुरानो एउटा घटना याद आयो । त्यो घटनाको याद मलाई आजमात्रै होइन जहिले पनि यो ठाउँमा पुग्दा आउँछ, आज पनि आयो ।
२०४३ को कुरा । म त्यो बेला कृषि सूचना शाखा हरिहरभवनमा जागिर खान्थेँ, ठमेलमा डेरा थियो । मेरो यातायातको साधन एउटा सानो चाइनिज साइकिल थियो, सेकेन्डहेन्ड किनेको । शायद त्यो साइकल मैले पत्रकार किशोर श्रेष्ठसँग किनेको थिएँ कि जस्तो लाग्छ । उनीसँग त्यस्तै चाइनिज साइकल थियो । म हरिहरभवनबाट उनको साइकलका पछाडि बसेर केही पटक कुपण्डोलको ओरालो हुँदै काठमाडौंतिर आएको थिएँ ।
ओरालोमा उनी सारै तेज गतिमा साइकल कुदाउँथे, मेरो छाति चिसो हुन्थ्यो डरले । त्यही साइकल मैले किनेँ वा त्यो मन परेर त्यस्तै किनेको हुँ, बिर्सेँ । भद्रकाली मोडको घटना भन्दै थिएँ । हामी एउटै हजुरबाआमाका खलक मामा–फुपूका सन्तान दाजुभाइ, दिदीबहिनी मिलेर ठमेलमा एउटै घरमा डेरा लिएर बसेका थियौँ । माइली फुपूको छोरा भाइ भोला घिमिरे र मेरो जोडी खूब जमेको थियो । हाम्रो उट्पट्याङ जोडी अनेक उधुमहरू गरिरहन्थ्यो ।
एकचोटि पाटन जानलाई दुवै भाइ ठमेलबाट साइकल लिएर निस्कियौँ । त्यो बेला सडकमा त्यति धेरै गाडी गुड्दैनथे । हामी सडकमा समानान्तर भएर गफ गर्दैगर्दै घण्टाघर हुँदै अघि बढ्यौँ । विद्युत प्रधिकरणका छेउमा आइपुगेपछि भोलाले लु मलाई भेट्टाउनु भन्दै साइकल दौडायो । मैले पनि दौडाएँ । भद्रकालीबाट सहिदगेटपट्टि घुम्ने मोडमा अचानक हाम्रा साइकल अल्झिएर हामी गम्य्राङगुम्रुङ भएर सडकमा पछारियौँ । घुँडा दरफर्यायो, पाइन्ट च्यातियो । के के भयो भयो । हामी निलो मुख लगाउँदै साइकल उठाएर डेरा फर्कियौँ । भर्खर जस्तो लाग्दा लाग्दै साढे तीन दशक बितेछन् ।
हामी दुईले सँगै मास्टरी गर्यौ, सँगै कृषिमा काम गर्यौँ, पछि दूरसञ्चारमा पनि पो सँगै भयौँ । ऊ अझै जागिर खाइरहेको छ । त्यो घटना सम्झेर एक्लै मुसुमुसु हाँस्दै म भद्रकाली छेऊको आकासे पुल तरेर भृकटीमण्डपतिर लागेँ । राष्ट्रिय सभागृह अगाडि पुगेपछि झल्यास्स याद आयो स्कूटर त उता बागबजारमा पो राखेको छु त । फर्केर पुरानो बसपार्क, विद्युत प्राधिकरण हुँदै अघि बढेँ । विद्युत प्राधिकरणलाई पनि मनमनले नमस्ते गरेँ । मैले दूरसञ्चारको जागिर छाडे पनि श्रीमती देवीजीले यही अफिसबाट तलब ल्याएर दाल चामलको जोहो गरिरहेकी छन् । अन्नदाताप्रति कृतज्ञ त हुनै पर्छ नि, हैन र !
बागबजारबाट स्कूटर लिएर पुतलीसडक हुँदै कृष्ण पाउरोटी चोक पुगेपछि छोराको याद आयो । पाउरोटी भण्डारमा पसेँ । कृष्ण पाउरोटीका पनि अचेल त तीनचारवटा शाखा भइसके कि क्या हो ! वारि, पारि र सँगसँगै पनि बेग्लाबेग्लै देख्छु । लेखक घनश्याम राजकर्णिकारको एउटा लेख अस्ति भर्खरै पढेको थिएँ । उहाँका बाले खडा गर्नुभएको यो ऐतिहासिक पाउरोटी भण्डार । पाउरोटी भनेको कृष्ण पाउरोटी मात्रै हो जस्तो थियो कुनैबेला ।
ब्रह्मटोलको डेरा छाडेर हामी तीन दाजुभाइ ठमेलमा सरेका थियौँ । त्यहाँ बस्दा हो कहिल्यै नबिर्सिने गरी कृष्ण पाउरोटीसँग परिचित भएको । नीलो रङ्गको तीनचक्के बाकसे रिक्सामा परपरसम्म हरहर वास्ना चलाउँदै पाउरोटी बेच्न ल्याउँथे बिक्रेताहरूले । ती पाउरोटी सिङ्गासिङ्गै हुन्थे, खोल नलगाएका नाङ्गै हुन्थे । चक्कुले फब्ल्याँटा पारेर दिन्थे । आधा पनि पाइन्थ्यो । नीलो चिप्लो खोलमा बेरिएको स्पेशल अलि महँगो हुन्थ्यो । त्यो झन् स्वादिलो । त्यो कहिलेकाहीँ मात्र खाइन्थ्यो ।
कृष्ण पाउरोटी भण्डारबाट एउटा पाउरोटी, केही कुकिज र दुईटा समोसा पनि लिएँ र सिनामङ्गलतिर सोझिएँ । केटाले अघि नै ‘त्यै पाउरोटी बोकेर आउने हैन नि’ भनेकोले उसलाई मनपर्ने समोसा पनि लिएको हुँ ।
पाउरोटी भण्डारमा समोसा पनि पाक्न थालेछ, थाहा थिएन । मुसाको औषधी लिन गएको मान्छे साढे दुई घण्टा बरालिएर घर फर्कें । स्कूटरमा ६ किलोमिटर र पैदल ७ हजार पाइला हिँडेछु । घरमा आएपछि केही लेखौँ लेखौँ लागेर आयो । अनि बसेर लेख्न थालेको यस्तो भयो । निकै लामो र झर्कोलाग्दो पनि भयो होला । यो लेख्दै गर्दा मलाई बारम्बार आदरणीय नगेन्द्रराज शर्माज्यूको हँसिलो अनुहार आँखामा आइरह्यो ।
हरेकपटक भेट हुँदा नगेन्द्र काकाले (उहाँ मेरो पिताजीभन्दा ६ महिनाले मात्र कान्छो हुनुहुन्छ) अभिव्यक्तिलाई पनि केही लेख्नुस् न भनिरहनुहुन्छ । मैले एक वा दुईपटकभन्दा बढी उहाँलाई टेरेको छैन । म एकदम अटेरी भतिज हुँ । पछाडिबाट पुल्ठो नलगाई टेरपुच्छरै लगाउँदिनँ । अभिव्यक्ति जस्तो ऐतिहासिक पत्रिकाका लागि नगेन्द्र काका जस्तो विशिष्ट व्यक्तित्वले रचना माग्दा दिन नसकेर म काकासँग लाजले भुतुक्क पनि थिएँ । कहिलेकाहीँ त उहाँलाई देख्दा तर्किएर पनि हिँड्थेँ । आज अनायासै यस्तो मुसे रचना तयार भयो ।