Logo

एमसीसीले देउवा र प्रचण्डबीच दुरी बढ्यो



काठमाडौं, २५ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले शिर्ष नेताहरुबीच ध्रुवीकरण बढेको छ । यसअघि निकट रहेका नेताहरुबीच दुरी बढेको छ । दुरीमा रहेका नेताहरु नजिकिएका छन् ।

एमसीसीलाई राजनीतिक अस्त्र बनाएर कतिपय नेताहरुले लाभ लिन खोजेका छन् । यसलाई रणनीतिक दाउपेचको विषय पनि बनाइएको छ ।

एमसीसीको अस्त्रले सत्ता गठबन्धन धरमराएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी यथावस्थामा कुनै हालतमा पारित नहुने बताएको भोलिपल्दै बुधबार सत्ता गठबन्धन तोड्ने खेल भएको बताए । यसले उनी एमसीसी कुनै हालतमा पारित गर्न नदिने रणनीतिमा रहेको खुलेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीको पक्षमा दरिलो गरी उभिएका छन् । उनी एमसीसी पारित गराएरै छाड्ने उद्देश्यका साथ बढेका छन् । देउवा र प्रचण्डको यही मुद्दाले दुरी बढ्दै गएको छ । यसले गठबन्धन धरमराउन थालेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको मुद्दाले नै नयाँ अस्त्रका रुपमा देखेको स्पष्ट भएको छ । उनले एमसीसी उपाध्यक्ष फतिमा सुमारसँग बिहिबारको भेटमा सत्ता गठबन्धनले धारणा बनाएपछि आफूहरुले धारणा ल्याउने जवाफ दिएका थिए । ओलीले एमसीसीबारे आफूहरु नहतारिने बताइसकेका छन् । यसबाट उनी यही मुद्दाबाट सत्ता गठबन्धन टुट्न सक्ने देखिरहेको बुझ्न सकिन्छ । ओली प्रधानमन्त्री हुँदा एमसीसी पारित गराउने पक्षमा उभिएका थिए ।

देउवाले ओलीसँग मिलेर एमसीसी पारित गर्ने रणनीति बनाएको देखिदैछ । यही उद्देश्यले भेटहरु पनि हुन थालेको छ एमसीसीको पक्षमा देउवा र विपक्षमा प्रचण्ड देखिनुले विकल्पहरु विकास हुन थालेका हुन् । एमसीसी यथास्थितिमा पारित हुन नहुने पक्षमा माधव नेपाल पनि छन् । यसकारण देउवाको गठबन्धनका अन्य नेताहरुसँग दुरी बढ्दै गएको छ । उनी ओलीसँग नजिकिने वातावरण विकास भएको छ ।

घटना यसरी नै विकास भएमा एमसीसीकै कारण अहिलेको सत्ता गठबन्धन टुट्न सक्छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी पाँच दलीय गठबन्धनमा एमसीसीबारे सहमति नबन्ने निश्चितप्रायः देखिएको छ । नेपाली काँग्रेस एमसीसीको पक्षमा खुलेको छ । नेकपा माओवादी केन्द्र र नेकपा एस संशोधन गरेर मात्र पारित गर्नुपर्ने पक्षमा छन् । यो उनीहरु विरोधमा रहेको सन्देश हो ।

जसपा पनि एमसीसीकै पक्षमा देखिएको छ । राष्ट्रिय जनमोर्चा एमसीसीको विपक्षमा छ । एमसीसीकै कारण सत्ता गठबन्धनका नेताहरुबीच टकराव समेत बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्