Logo

माओवादीको पालिकास्तरीय अधिवेशन: शनिबार नेतृत्व चयन हुन नसकेका जिल्लामा आज नेतृत्व चयन



काठमाडौं, मंसिर १२ । नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भर्चुअल माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरेका थिए ।

धेरैजसो जिल्लाका पालिकामा सर्वसम्मत तरिकाले नेतृत्व चयन भएको छ भने केहीमा स्वस्थ प्रतिस्पर्धाबाट पनि निर्वाचित भएका छन् । शनिबार नेतृत्व चयन हुन नसकेका केहि जिल्लामा भने आज नेतृत्व चयन हुने जनाईएको छ ।

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा पनि उद्घाटनसत्र सम्पन्न भई नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ ।
पार्टीलाई साङ्गठनिकरूपमा स्पष्ट बनाउने र विधिमा सञ्चालन गर्ने उद्देश्यका साथ माओेवादीले यसपटक केन्द्रीय, प्रदेश र स्थानीय तहसम्म निर्वाचन समिति नै गठन गरेर नयाँ नेतृत्व चयन गर्ने व्यवस्था गरेको छ ।

माओवादीले ७५३ वटा स्थानीय तहका अलावा सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिकास्तरीय सम्मेलनको आयोजना गरेको हो । शनिबार सम्पन्न भएका सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गरेको छ ।

यही मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्