Logo

माधव नेपाल नेतृत्वको एसको साइज घट्यो



काठमाडौं, १० जेठ । स्थानीय तहको चुनावले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको साइज घटाइदिएको छ । एक महानगरपालिका, एक उपमहानगरपालिकासहित एसले २० पालिका जितेको छ ।

त्यसो त नेकपा एमाले एक हुँदा २०७४ को चुनावमा २९४ मेयर तथा अध्यक्ष र ३३१ उपमेयर तथा उपाध्यक्ष जितेको थियो । एमाले फुटेर एस बन्दा कतिपय पालिकाका मेयर तथा उपमेयर, अध्यक्ष तथा उपाध्यक्ष विभाजित भएका थिए । फुट्दा गएका जति संख्या पनि एसले जित्न सकेन ।

आफूसँग भएका प्रतिनिधि सभाको सांसद बराबर पालिका पनि एसले जिताउन सकेन । यो माधव नेपाललाई ठूलो धक्का हो । यसकारण पनि एसका नेता तथा कार्यकर्ता असन्तुष्ट भइसकेका छन् ।

एसमा २३ सांसद छन् । सोम पाण्डेलाई समेत गन्दा २४ पुग्छ । तर, पालिकामा एसको २० सिट मात्र छ ।

२७५ सदस्यीय संसदमा माधव नेपाल नेतृत्वको नेकपा एसको २३ सांसद हुनु तर ७५३ पालिकामा नेकपा एसको त्यो भन्दा कम संख्या हुनुले कार्यकर्तालाई झस्काएको छ । उनीहरु पार्टी एकताको दबाब बढाइरहेका छन् ।

एसका सम्मानित नेता झलनाथ खनालले गठबन्धनबारे पुनः विचारको विषय उठाएका छन् । एमालेसँग पुनः एकताको सम्भावना औल्याएका छन् ।

एसको कम सिट आउनुमा पाएको पालिकामा जिताउन उसको आफ्नै कम मत हुनु र कतिपयमा गठबन्धनको दलको भनिएको मत नआउनु पनि कारण रहेको छ । विशेषगरी एसले मेयर वा अध्यक्ष उठाएको पालिकामा काँग्रेसबाट बागी उम्मेदवार उठ्नुले पनि धक्का परेको छ ।



प्रतिक्रिया दिनुहोस्