Logo

प्रचण्ड–देउवाको दाबी : “भरतपुर महानगरपालिकामा रेणुले जित्छिन”, प्रचण्ड चितवन जाँदै



काठमाडौं, ४ जेठ । गत बैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतपरिणामहरु धमाधम सार्वजनिक भैरहेको छ । अहिलेसम्मको चुनावी परिणामलाइ हेर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लिड गरिरहेको छ । उसलाई प्रमुख दल नेपाली काँग्रेसले पछ्याईरहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

पहिलो चरण अन्र्तगर्त ३४ जिल्लामा चुनाव भएको हो । यी मध्ये अहिलेसम्म एमालेले ८६ स्थानमा विजयी हाँसिल गरिसकेको छ भने नेपाली काँग्रेसले ८४ स्थानमा विजयी हाँसिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले भने ४२ स्थानमा जित हाँसिल गरेको छ । पहिलो चरणको निर्वाचन अन्र्तगर्त चार महानगरपालिकाको मतपरिणामलाई यसपटक आम जनताले विशेष चासोका साथ हेरिरहेका छन् । यी महानगरपालिकाको जित प्रमुख पार्टीहरुको लागि पनि प्रतिष्ठाको विषय बनेको छ ।

काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेवीच कडा प्रतिष्पर्धा देखिएपनि एमालेले अहिले फराकिलो मतले लिड गरिरहेको छ । त्यस्तै ललितपुर महानगरपालिकामा पनि काँग्रेस र एमालेवीच नै कडा प्रतिष्पर्धा भैरहेको छ । यसमा काँग्रेसले एक हजार मतले अग्रता कायमै गरिरहेको छ । त्यस्तै चितवनको भरतपुर महानगरपालिकामा भने काँग्रेस र माओवादी केन्द्रको तालमेल हुँदापनि एमालेले फराकिलो मत अन्तरले गठबन्धनलाई पछि पारिरहेको छ ।

भरतपुर महानगरपालिकालाई निकै चासोको रुपमा हेरिनुको प्रमुख कारण के छ भने यो महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाल काँग्रेस र माओवादी गठबन्धनकी उम्मेद्धवार छिन् । उनले जित्नेमा दुवै पार्टीका शीर्ष नेताहरु यतिवेलापनि ढुक्क छन् ।

प्रारम्भिक मत परिणाम सार्वजनिक भएदेखि नै एमालेका देवी ज्ञवालीले दाहाललाई निकै पछि पारेका थिए । यस्तो अवस्थामा तालमेल अनुसार कांग्रेसीहरुले रेणुलाई भोट नहालेको आरोपहरु लगाईरहेको बेला काँग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई भेटेर आफ्नो नेता तथा कार्यकर्ताहरुले भोट हालेको आश्वस्त पारेका छन् । आज विहान दुई नेताहरुवीच निकै गम्भिर छलफल भएको स्रोतको दाबी छ ।

उनीहरुवीच रेणुले हार्ने वा जित्ने के हो ? त भन्नेबारेमा समेत गम्भिर समिक्षा भएको थियो । तर कांग्रेस सभापति देउवाले रेणुले जित्नेमा आफू शतप्रतिशत ढुक्क रहेको भन्दै प्रचण्डलाई पनि ढुक्क हुन आग्रह गरेका थिए । सूत्रहरुले बताए अनुसार चितवनमा माओवादीको भोट जम्मा ३० प्रतिशत मात्रै हो, तर रेणुले अहिले पाएको मत काँग्रेसबाट पनि आएको भन्ने प्रष्ट हुन्छ । अहिले मतगणना भएका वडाहरुमा एमालेको पनि बलियो पकड भएका कारण आफूहरु तल परेपनि चार नम्बर क्षेत्रको मतगणना सुरु भएपछि भारी मतको अन्तरले लिड गर्ने दुवै नेताहरुको विश्वास छ ।

हुन त केही दिन अघिमात्रै किन चुनावी गठबन्धन अनुसार भोट आएन ?भनेर मिडियाले चितवन काँग्रेस सभापति जितनारायण श्रेष्ठसँग कुरा गर्दा उनले पनि काँग्रेसले रेणुलाई शतप्रतिशत भोट नहालेपनि भोट ईमान्दारिताका साथ हालेको स्विकार गरे । उनका अनुसार अहिलेसम्म चार वटा वडाको मत गणना सकिएको छ । तीन वटामा काँग्रेस प्यानलसहित बिजय भएको छ ।
हुन त अहिलेसम्म एउटा वडा एमालेको पोल्टामा गएको छ । ५ वडाको मतगणना जारी छ । त्यहाँ पनि काँग्रेसले जित्नेमा देउवा लगायतका शीर्ष नेताहरु ढुक्क छन ।

कांगेस र माओवादीवीच महानगरमा मात्रै तालमेल हुनुपनि रेणुलाई वडाहरुबाट न्यायसंगत भोट काँग्रेसबाट नआएको हुनसक्ने एउटा फ्याक्टर भएको बुझिएको छ ।  फेरि श्रेष्ठ भन्छन,“हामीबीच वडाहरुमा तालमेल भएन । त्यसको असर मेयर–उपमेयरको तालमेलमा देखियो । अहिले मेयरलाई आएको धेरै भोट काँग्रेसकै हुन् । माओवादीको त्यति राम्रो संगठन छैन, मतगणना भएका वडाहरुमा । चार नम्वर क्षेत्र काँग्रेसको पकड क्षेत्र हो । हामीले त्यहाँबाट मेयर–उपमेयरमा लिड गर्छौँ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि गृहजिल्ला चितवन जाने भएका छन् ।

रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्ड उक्त विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन उद्घाटन गर्न चितवन जान लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot