Logo

बदररहित मतदानका लागि मतदाता शिक्षा कार्यक्रम



विराटनगर, २ असार । स्थानीय निकायको निर्वाचनमा ‘बदररहित मतदान’ गराउने उद्देश्यले मोरङमा मतदाता शिक्षा कार्यक्रम थालिएको छ । मतदातालाई नाटकको माध्यमबाट मतदानको विधि सिकाउनुका साथै एफएम, पत्रपत्रिकाकाबाट प्रचार प्रसार र प्रत्येक वडामा मतदाता शिक्षिका कार्यक्रम सञ्चालन गरिएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

ग्रामीण क्षेत्रका जनतालाई नाटकको माध्यमबाट आकर्षित गरी मतदान गर्ने तरिका र मतपत्र पट्याउने प्रक्रियाबारे जानकारी गराउने काम भएको छ । यस जिल्लाको १७ वटा निकायमा १८ पटकसम्म नाटक मञ्चन गरिएको थियो ।

नाटक अघि करिब आधा घन्टासम्म नृत्य देखाएपछि मतदान कसरी गर्ने, मतपत्र कसरी पट्याउनेलगायतका विषयमा जानकारी गराइएको सो कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराउनुभएको छ ।
नृत्यप्रति जनतामा आकर्षण बढेकाले सुनसरीको १२ वटै निकायमा र झापाको तीन वटा निकायमा समेत नृत्यसहित नाटक मञ्चन गरिएको हो ।

सप्तरी र सिरहामा जेठ ३ गतेदेखि ८ गतेसम्म यसैगरी नाटक मञ्चन हुने सो कार्यालयका प्रमुख सञ्जेलले उल्लेख गर्नुभयो । यसअघि संविधानसभाको निर्वाचनमा झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा अन्य जिल्लाको तुलनामा बढी मत बदर भएकाले ती जिल्लाहरुमा ध्यान केन्द्रित गरिएको बताइएको छ ।

प्रथम चरणको निर्वाचनमा काठमाडौँमै करिब १० प्रतिशत मत बदर भएको समाचार प्रसारित भइरहेकाले अव थप बढी सजगताका साथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको प्रमुख सञ्जेलले जानकारी गराउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot