Logo

चुनावपछिको प्रधानमन्त्री को ? केपी ओलीलाई स्विकार गरेनन् माधव नेपालले



कात्तिक १८, काठमाण्डौ । मंसिरमा हुने चुनावपछि बहुमतसहितको सरकार बनाउने दाबी गरिरहेको बाम गठबन्धनभित्र प्रधानमन्त्री को बन्ने भन्ने बहस सुरु भएको छ । कतिपयले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री भनेर सम्बोधन गर्न थालिसकेका छन् भने कतिपयले प्रधानमन्त्रीका लागि आन्तरिक रुपमा एमाले र माओवादीबिच सहमति भइसकेको तर को बन्ने भन्ने कुरा सार्वजनिक नभएको अनुमान गरेका छन् ।

अर्कोतिर वाम गठबन्धनको सुरुमा नै केपी शर्मा ओली भावी प्रधानमन्त्री र पुष्पकमल दाहाल पार्टी अध्यक्ष बन्ने सहमति भएको चर्चा पनि चलेको छ । चर्चाकै कुरा गर्ने हो भने त कतिपय नेताहरुले नै दाहाल राष्ट्रपति, ओली प्रधानमन्त्री र एमाले नेता माधवकुमार नेपाल पार्टी अध्यक्ष बन्ने अनुमान गरेका छन् ।

त्यसो त वाम गठबन्धनभित्र ओली, दाहाल र नेपालसहित झलनाथ खनाल यसअघि प्रधानमन्त्री भइसकेका नेता हुन् । त्यसैले पनि प्रधानमन्त्रीको दाबेदारको रुपमा यि चारजनासहित एमालेका अर्का नेता बामदेव गौतमदेखि माओवादीका नारायणकाजी श्रेष्ठसम्मको नाम प्रधानमन्त्रीको दाबेदारका रुपमा लिइएको छ ।
जनमतका हिसाबले नेकपा माओवादीभन्दा एमाले ठूलो दल भएकाले एमालेले नै आफ्नो रुचि अनुसारको पद रोज्ने निश्चित छ ।

त्यसमा पनि ओली प्रधानमन्त्रीका लागि इच्छुक देखिएका छन् । पार्टी एकता भए पनि नभए पनि चुनावपछिको सरकार आफुहरुले चलाउने दाबी गर्दै आएका एमाले माओवादीका शीर्ष नेताहरुले पदको भागबण्डा कसरी गर्छन्, त्यो समयले देखाउने छ । तर अहिलेदेखि नै चुनावपछिको सरकारको बारेमा चर्चा सुरु भएको छ ।

यसअघि प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले सस्तो वा महङ्गो जे भने पनि राम्रै चर्चा पाएका थिए । काम केही नगरे पनि नयाँ नयाँ विकासका अवधारणा ल्याएका ओली नै अबको प्रधानमन्त्री बन्नुपर्छ भन्ने आवाज एकातिर छ भने उखान टुक्का र हावादारी भाषणमा सिपालु ओलीले केही गर्न सक्दैनन् भन्ने जमात अर्कोतिर छ । ओली प्रधानमन्त्री हुँदा नै एमालेभित्र अनावश्यक भाषण गरेको भनेर ओलीको आलोचना भएको थियो ।

यद्यपी अहिले पनि एमालेभित्र नेपाल र खनालकोभन्दा ओलीको नै शक्ति धेरै छ । त्यसैले ओली प्रधानमन्त्री बन्ने सम्भावना अरुकोभन्दा बढि देखिन्छ । अर्कोतिर चुनावमा गठबन्धन गरेको माओवादीले राम्रै सिट जित्न सक्यो भने ओलीको विकल्पमा दाहालले आफूलाई अघि नसार्लान भन्न सकिदैन ।

भद्र सहमति भइसकेको भनेर केहीले अनुमान गरे पनि वाम गठबन्धनभित्र आगामी प्रधानमन्त्रीको बारेमा स्पष्ट छलफल भएको पाइदैन । सहमति नै भएको भए त चुनाव अघि नै प्रधानमन्त्रीको नाम जनतामाझ लैजादा राम्रै प्रभाव पर्न सक्थ्यो । त्यसैले प्रधानमन्त्री को बन्ने भन्ने विषयमा वाम गठबन्धन एकमत हुन नसकेको स्पष्ट छ ।

शनिवार राजधानीमा रिपोर्टर्स क्लब नेपालले गरेको एक साक्षात्कार कार्यक्रममा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले भावी प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई स्विकार गर्न सकेनन् । साक्षात्कारमा पत्रकार ऋषि धमलाले चुनावपछि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने हो भनेर प्रश्न गर्दा बेमौसमी बाजा नबजाउन नेपालले आग्रह गरेका थिए ।

धमलाको प्रश्नमा नेता नेपालले चुनावपछि एमाले र माओवादीसहित वाम गठबन्धनमा आवद्ध दलहरुबिचमा छलफल गरेर प्रधानमन्त्रीको नाम तय गरिने जवाफ दिए । यसबाट पनि के प्रष्ट हुन्छ भने एमालेभित्रै ओली सर्वसम्मत हुन नसकेको बेला वामग गठबन्धनभित्र सहजै कुरा मिल्ला र ओली प्रधानमन्त्री बन्लान भनेर अपेक्षा गर्न सकिदैन ।



प्रतिक्रिया दिनुहोस्