Logo

एमाले–माओवादीभित्र नैतिक रुपमा प्रधानमन्त्रीको दाबी गर्न सक्ने म जत्तिको नेता अरु छैन : बामदेव गौतम



नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । गौतमसँग ऋषि धमलाले उनकै चुनावी क्षेत्रमा पुगेर विशेष अन्तरवार्ता लिएका छन् । आफूलाई प्रधानमन्त्रीको दाबी गर्दै आएका गौतमले धमलासँगको कुराकानीमा पनि आफू जत्तिको नैतिक रुपमा बलियो उम्मेदवार एमाले र माओवादीभित्रसमेत नरहेको जिरिक गरे । चुनावी नतिजा, भावी प्रधानमन्त्री, एमाले–माओवादीबिच पार्टी एकता, बर्दियाको चुनावी भिडन्त लगायतका विषयमा केन्द्रिर रहेर गरिएको कुराकानीको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

बर्दियाको चुनावी महोल कस्तो छ ?
बर्दियामा चुनावी माहोल गरमागर्मी छ । वामपन्थी उम्मेदवाहरुले जित्ने पक्का भइसक्यो ।

वामपन्थी उम्मेदवारले जित्ने आधार के छ ?
वाम गठबन्धनप्रति जनताको लहर आएको छ । त्यसैले चुनाव जित्छौँ ।

तपाईको अवस्था के छ ?
मैले चुनाव जित्नेमा कुनै शंका छैन । मैले चुनाव जितिसकेको छु ।

तपाईलाई एमालेका कार्यकर्ताले भोट हाल्छन् ?
यस्तो पनि प्रश्न हुन्छ ?

एमालेका कार्यकर्तालेसमेत मलाई भोट हाल्छन् भनेर संजय गौतमले प्रचार गर्नुभएको छ नि ?
एमालेका कार्यकर्ता कांग्रेसका उखरमौला कार्यकर्ता जस्ता हुन् र ? संजय गौतमले पैसा दिएको भरमा हाम्रा व्यानर च्यात्ने काम कांग्रेसका कार्यकर्ताले गरेका छन् । एमालेका कार्यकर्ता यस्ता छैनन् ।

केन्द्रमा माओवादीसँग गठबन्धन भए पनि तल्लो तहमा माओवादीका कार्यकर्ताले एमालेलाई मतदान गर्छन त ?
शतप्रतिशत गर्छन् । यस्तो पनि कसैले कुरा गर्छ ? यो त कांग्रेसको दिमागमा आएको सपनाको पुलाउ हो । हामीले त जितिसक्यौँ । कांग्रेसले त कति ठाउँमा हाछौँ भनेर गनिरहेका छन् ।

नेताहरुको टाउको मिलेर मात्रै हुन्छ र ? जनस्तरमा मिल्नुपर्दैन ?
एकता भन्ने तपाईलाई के थाहा छ ? मलाई थाहा छ । मैले २० वटा पार्टी एकता गराइसकेको छु । आज पनि मेरै कारणले एमाले र माओवादी एकता हुन लागेको हो । एकता कसरी गर्नुपर्छ मलाई थाहा छ । ऋषि धमला र अरुलाई थाहा छैन ।

नेपाल अब साम्यवादको बाटोमा गएको हो ?
हो । गयो ।

नेपाली कांग्रेसले त तपाईहरु अधिनायकवादतिर जाँदै हुनुहुन्छ भन्ने आरोप लगाएका छन् नि ?
त्यो आरोप गलत छ । कम्युनिष्टलाई आरोप लगाएर कांग्रेस नै अधिनायकवाद तिर गइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरित काम गरिरहेका छन् । आयोगलाई टेरेका छैनन् । यही हो अधिनायकवाद । तर जनताले अहिले उल्ट्याउँदै छन् । कांग्रेस अहिले पागल भएको छ ।

राष्ट्रपतिय शासन ल्याउने तपाईहरुको योजना हो ?
अहिले घोषणापत्रमा लेखेका छैनौँ । तर पछि आवश्यकता अनुसार राष्ट्रपति शासनमा जान्छौँ । नेपाली जनताले चाहे भने प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शासनमा जान सक्छौँ ।

वाम गठबन्धनको दुई तिहाई बहुमत आउँछ ?
आउँछ । यसपटक एमाले र माओवादी केन्द्रको गठबन्धनले दुई तिहाई बहुमत आउँछ ।

कांग्रेसले दुई तिहाई ल्याउन दिदैनौँ भनेको छ नि ?
कांग्रेसले त वाम गठबन्धनलाई सिध्याउने प्रयास गरिरहेको छ नि । हेरम जनताले कसलाई साथ दिन्छन् । हामी त जनताको चाहना अनुसार चल्ने पार्टी हो । शेरबहादुर त संविधान विरोधी हुन् । संविधान पढेका पनि छैनन् । पढे पनि दिमागमा राखेका छैनन् ।

अबको प्रधानमन्त्री को हो ?
त्यो त चुनाव सकिएपछि निर्णय हुन्छ । म पनि प्रधानमन्त्रीको दाबेदार हुँ । म प्रष्ट रुपमा प्रधानमन्त्रीको उम्मेदवार हुँ । एमाले माओवादीभित्र नैतिक रुपमा प्रधानमन्त्रीको दाबी गर्न सक्ने म जत्तिको नेता अरु छैन ।

केपी ओली र प्रचण्डले तपाईलाई समर्थन गर्नुहुन्छ त ?
गर्नुहुन्छ ।

पार्टी एकता हुँदा अध्यक्ष को बन्छ ?
त्यो पनि पछि थाहा हुन्छ । केपी ओली कि प्रचण्ड भन्ने हामी बिचार पु¥याएर निर्णय गछौँ । अहिले हामी बोल्दैनौँ ।

पार्टी एकता कहिले हुन्छ ?
चुनाव सकिएको तीन महिनाभित्र पार्टी एकता हुन्छ ।

तपाई अहिले बर्दियाबाट चुनाव लडे पनि अर्कोपटक यहाँ नआउने हो कि भन्ने आशंका जनताले गरेका छन् नि ?
म यसपटक पनि जुनसुकै ठाउँबाट चुनाव लड्न सक्थेँ । तर म बर्दिया नै किन आएँ ? किनकी बर्दिया मेरो कर्मथलो हो । पार्टी निर्माण गर्ने र संसदीय संघर्षमा महत्वपूर्ण भूमिका खेलेको हुनाले पार्टीले मलाई यहाँ पठाएको हो ।

तपाईले विगतमा पनि चुनाव जित्नुभयो । मन्त्री बन्नुभयो । तर बर्दियामा कुनै परिवर्तन गर्न सक्नुभएन नि ?
अरु ठाउँका जनताको मुहार जस्तो छ त्यस्तै बर्दियाका जनताको मुहार छ । मेरो आलोचना गर्नेहरुले यहाँका जनताको मुहार मलिनो छ भन्छन् । तर म यहाँबाट जितेर गएपछि नेपालमा अरु कसैले गर्न नसकेको काम गरेको छु । बबइ सिँचाई योजना, भेरी डाइभर्सनको सुरु गरेँ । मैले पार्टीको नेतृत्व गरेका बेला आफ्नो गाउँ आफैँ बनाउ भन्ने अभियान सुरु गरेँ । बर्दियामा जति पनि मोटरबाटो बनेका छन्, ति सबै मैले नै गरेको हुँ । सुकुम्बासी समाधान आयोग बनाएर ८४ हजार सुकुम्बासीलाई घर घडेरी दिलाउने काम मैले नै सुरु गरेको हुँ । यि सबै योजना बर्दियामा पनि लागु भएको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रम मैले सुरु गरेर नेपाली कांग्रेसको मुखमा बुजो मैले नै लगाएको हुँ । अहिले बर्दियामा मोटर बाटो नपुगेको ठाउँ नै छैन । देशभरी बनेका ८१ हजार किलोमिटर सडक एमालेले नै बनाएको हो ।

तपाईको प्रतिस्पर्धी संजय गौतमले त बामदेव गौतमले केही पनि काम गरेनन् भन्ने आरोप लगाएका छन् नि ?
वास्तवमा संजय गौतम कांग्रेस होइनन्, जमिन्दार हुन् । उनी जमिन्दारी शासन देखाउन चाहन्छन् । उनले भन्छन् नि यहाँ नजन्मेकाहरु चुनावमा उठ्नै पाउँदैनन् । बर्दियामा केही काम भएको छ भने बामदेव गौतमले गर्दा नै भएको छ । संजयले त एउटा सिन्को भाँचेका छैनन् । मैले बनाएको सडकमा एउटा ढुङ्गा हाल्ने काम पनि उनले गरेका छैनन् । कांग्रेसले विकास विरोधी काम मात्रै गर्छ ।

बबइ सिँचाई आयोजनामा बजेट आफूले पारेको दाबी संजय गौतमले गर्नुभएको छ ?
उनले एक पैसा पनि पारेका छैनन् । यो सबै भ्रम हो । संविधान जारी भएपछि एमाले र माओवादीको नेतृत्वको सरकारले बजेट ल्याएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि त बजेट नै आएको छैन नि ।

बर्दियाका जनताले के खोजेका छन् ?
बर्दियाका जनताले सडक पिच खोजेका छन् । चुनावपछिको २ वर्षभित्रमा सबै सडक पिच हुन्छन् । पाँच वर्षभित्र बबइ नदीलाई नियन्त्रण गछौँ । यसका लागि डिपिआर बनिसकेको छ । बर्दियाका सुकुम्बासी वा घरबार नभएकालाई घर बनाइदिन्छौँ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot