Logo

‘कार्यकर्ता र जनताले चाहेको जस्तै शसक्त कांग्रेस बनाएरै छाड्छौँ ‘



नेपाली कांग्रेसले केपी ओली नेर्तत्वको सरकारको सय दिन अपेक्षा गरे जति उत्साहजनक हुन नसकेको आरोप लगाएको छ । पार्टी भित्रको आन्तरिक द्धन्द्धले कांग्रेस आगामी दिनमा कसरी अगाडि बढ्छ भन्ने अन्यौल एकातिर छ । कम्युनिष्ट दल र सरकारसँग भिडेर कांग्रेसलाई बलियो बनाउनुपर्ने चुनौति अर्कोतिर छ । यिन विषयमा केन्द्रित रहेर ऋषि धमलाले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारको एक सय दिनको काम कस्तो लाग्यो ?
अहिलेको सरकारले सय दिन अलमलमै विताएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भइसकेपछि तीनै तहको चुनाव सम्पन्न भएर निर्वाचित प्रतिनिधीले सरकार चलाएका छन् । तीनै तहका सरकारले जनताको सेवा प्रभावकारी बनाउनुपर्ने हो । तर अहिलेसम्म स्थानीय र प्रदेश तहको कार्यक्षेत्र नै टुङ्गो लागेको छैन । अधिकार बाँडफाँट नै हुन नसक्दा स्थानीय र प्रदेश सरकारले काम गर्न सकेका छैनन् । त्यसकारण सय दिन अलमलमै वित्यो ।

ओली नेतृत्वको सरकारले विकास र समृद्धि हासिल गर्न सक्ला ?
संविधान जारी भएपछिको निर्वाचनको जगमा नै सरकार बनेको हो । अहिले विकास र समृद्धि बाहेक अरु कुनै काममा ध्यान दिनुपर्ने अवस्था छैन । राजनीतिक ठूला द्धन्द्ध, शसस्त्र द्धन्द्धको व्यवस्थापन गर्नुपर्ने अवस्था छैन । चुनाव गराउनुपर्ने दायित्व पनि अहिलेका लागि छैन । राजनीतिक सहमतिका लागि समय फाल्नुपर्ने अवस्था पनि छैन । संविधान निर्माण गर्ने, चुनाव गराउने जस्ता कठीन काम पूर्ववर्ति सरकारले गरिसकेको छ । अब यो सरकारले विकास र समृद्धिबाहेक अरु के काम गर्ने ? के बहानामा काम नगर्ने त ? जनताका ईच्छा पूरा नगरेर के गर्नुपर्छ ? विकास र समृद्धिबाहेक त केही पनि काम नै छैन नि । तर सय दिनमा राम्रो संकेत देखिएन ।

तर सरकारले धेरै काम गर्यो भन्नेहरु पनि छन् नि । भारतसँगको सम्बन्ध सुधार जस्ता काम त भएको छ नि ?
भारतसँगको समुधुर सम्बन्ध सदियौँदेखिको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुभयो । यो राम्रो हो । तर मोदी नेपाल आउँदा भारतका सासंदले जनकपुर फिर्ता ल्याउनुपर्छ भने । यसलाई सम्बन्ध सुमधुर भएको मान्ने ? जनकपुर फिर्ता ल्याउनुपर्छ भन्ने भनाईप्रति सरकारले खण्डन गर्नसमेत सकेन । भारतका प्रधानमन्त्री मोदीलाई अभिनन्दन गर्ने बहानामा नेपालको राष्ट्रय झण्डाको अपमान गरियो । नेपालमा भारतीय सेनाले गस्ती गर्दा सरकारले केही गर्न सकेन । नेपालको राष्ट्रियता कमजोर पार्ने काम हुँदा सरकार मौन बस्यो ।

सरकारले के कस्ता काम गर्यो भने नेपाली कांग्रेसले समर्थन गर्छ ?
जनताले अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्छ । स्थानीय निकायलाई शक्ति हस्तान्तरण गर्नुपर्छ । केन्द्रिकृत राज्य प्रणालीको अन्त्य गर्नुपर्छ । संघीय शाषन व्यवस्थाअनुसार काम हुनुपर्छ । सबै जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धि गर्दै चलायमान गर्नुपर्छ । यस सम्बन्धमा सरकारले कुनै कदम नै चालेको छैन ।

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्नका लागि जुन किसिमको वातावरण बनेको छ, यसलाई राम्रो मान्न सकिदैन ?
सडक यातायात दुर्घटनाका कारण हरेक वर्ष तीन हजार नागरिकले ज्यान गुमाउनु परेको छ । हजारौँ नागरिक घाइते र अराबौँ रुपैयाँ बराबरको क्षति हुने गरेको छ । यि कुराको व्यवस्थापन गर्नुपर्दैन ? सिन्डिकेट तोड्नु राम्रो हो । तर तोडिएकै छैन नि । अहिले पनि जस्ताको तस्तै देखिन्छ ।

दुई ठूला राजनीतिक दल एक भएर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । अर्कोतिर नेपाली कांग्रेस कमजोर बनेको छ । कांग्रेसले आफ्नो पुरानो अवस्था फर्काउन सक्छ ?
पञ्चायती व्यवस्थामा पनि नेपाली कांग्रेस कहाँ छ भन्थे । राजाको निरङ्कुश शाषनका बेला पनि राजावादीहरु कांग्रेस कहाँ छ भन्थे । अहिले कम्युनिष्टहरुले कांग्रेस कहाँ छ भन्छन् भने त्यो उनीहरुका लागि दुर्भाग्य हो । कांग्रेस जनताको मनमा छ । कांग्रेस लोकतन्त्रको आधारशिलामा उभिएको छ । हाम्रो समर्पण जनताका लागि हो । विधीको शाषनको लागि कांग्रेस सधैँ सक्रिय रहन्छ । संविधानको रक्षा र जनताको हक अधिकारका लागि कांग्रेसको विकल्प छैन ।

गुटगत राजनीतिका कारण कांग्रेस कमजोर भएको छ । गुट र आन्तरिक विवाद कसरी अन्त्य हुन्छ ?
पार्टीभित्रको एकता स्थापित हुन्छ । कार्यकर्ता र जनताले चाहेको जस्तै शसक्त कांग्रेस बनाएरै छाड्छौँ ।

तपाई जस्तो क्षमता भएको नेताले कांग्रेसलाई कमजोर बनाउने सभापति शेरबहादुर देउवालाई किन साथ दिइरहनुभको छ ?
म कांग्रेसको कार्यकर्ता हुँ । अहिले देउवा सभापति हुँदा सहयोग गरेको छु । भोली अर्को व्यक्ति सभापति भयो भने पनि सहयोग गर्नेछु । पार्टीका कार्यकर्ताले सभापतिका कमी कमजोरीलाई सुधार्नका लागि सचेत गराउनुपर्छ । तर सभापतिलाई कमजोर बनाउने भूमिकाले पार्टी बलियो बनाउन सक्दैन । पार्टीलाई बलियो बनाउने दिशामा हिँड्नु हाम्रो कर्तव्य हो ।

सभापति देउवाले पार्टीलाई बलियो बनाउनुहुन्छ कि समाप्त पारिदिनुहुन्छ ?
देश सशस्त्र द्धन्द्धमा गएको बेला तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले शान्तिपूर्ण राजनीतिमार्फत देशलाई द्धन्द्धको खाडलबाट बाहिर ल्याउनुभयो । त्यसपछि शुशील कोइरालाले संविधान बनाउनुभयो । देउवाको पालामा तीन तहकै चुनाव भयो नि । यि तिनै काम कांग्रेसले गर्छ भनेर विश्वास गरेका थिएनन् । आखिर काम त कांग्रेसले नै गर्यो नि । देउवाले गरेको महत्वपूर्ण भूमिकाको सबैले प्रशंसा गरेका छन् । पार्टीभित्र कमी कमजोरी छन् । अब सबै कमजोरी हटाएर कांग्रेसलाई सशक्त बनाउँछौँ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot