Logo

नेपाल फोटो पत्रकार महासंघद्धारा फोटो पत्रकारहरुको सुरक्षाको लागि सरकारको ध्यानाकार्षण



‘९ बुँदे चितवन घोषणापत्र–२०७५ सार्वजनिक’

काठमाडौं, १९ जेठ । नेपाल फोटो पत्रकार महासंघ (एनएफपिजे) ले पछिल्लो समय फोटो पत्रकारहरुमाथि आक्रमण, धम्की र सेल्फ सेन्सरसिप बढेको भन्दै सरोकारवालाहरुसँग फोटो पत्रकारको सुरक्षा, सम्मान र स्वतन्त्र रुपमा उपभोग गर्न पाउने वातावरण सिर्जना गर्न ध्यानाकार्षण गराएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा महासंघको चितवन घोषणापत्र–२०७५ सार्वजनिक गर्दै यस्तो ध्यानाकार्षण गराईएको हो । कार्यक्रममा बोल्दै महासंघका कार्यवाहक अध्यक्ष सागर श्रेष्ठले संविधानले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेपनि त्यसको पूर्ण रुपमा प्रयोग गर्न प्रेस र आम नागरिकले नपाएको गुनासो पोखे ।

उनले भने,‘अहिलेपनि समाचारका लागी फोटो खिच्न गएका फोटो पत्रकारहरुलाई धम्की दिइने, आक्रमण हुने क्रम जारी छ, यो सँगै सेल्फ सेन्सरसीप बढेको छ । राज्य र गैर–राज्य पक्षबाट फोटो पत्रकारमाथि प्रत्यक्ष वा अप्रत्यक्ष प्रहारका प्रयास भैरहेका छन् । यसप्रति हाम्रो गम्भिर ध्यानाकार्षण भएको छ, सरकारले विशेष ध्यान दिनुपर्छ।’

त्यस्तै महासंघका महासचिव हरि रेग्मीले देशभरका विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुलाई फोटो पत्रकार महासंघमा गोलबन्द गर्न आह्वान गरेका छन् । त्यस्तै उनले फोटो पत्रकारहरुको क्षमता र दक्षता अभिवृद्धि गर्नको लागि विभिन्न संघ तथा संस्थाहरुसँग सहकार्य गर्दै फोटो पत्रकारहरुको हकहितका लागि आवाज बुलन्द बनाउने बताए ।

उनले फोटो पत्रकारहरुको जीवनरक्षार्थ बिमा तथा उपकरणको बीमाको लागि सम्बन्धित निकायसँग छलफल तथा पहल गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘संघीय संरचना अनुसार महासंघलाई हामी रुपान्तरण गर्दै लैजान्छौं।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले फोटो पत्रकारहरुले नेपालका विभिन्न लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत क्लबले महासंघसँग सहकार्य गर्ने विश्वास दिलाए।

धमलाले फोटो पत्रकारहरुको सम्मानको लागि क्लबले पहिलोपटक बाबु छिरिङ फोटो पत्रकारिता पुरुस्कार स्थापना गरेको स्मरण गर्दै भने,‘क्लबले पहिलो पटक फोटो पत्रकारलाई सम्मान गर्ने सूरुवात गरेको हो, अहिले त धेरैले फोटो पत्रकारलाई सम्मान गर्न पुरस्कारको स्थापना गरेका छन्, मलाई खुशी लागेको छ, आगामी दिनमा पनि सबैले फोटो पत्रकारहरुको भूमिकाको उच्च मुल्यांकन गर्नुपर्छ।’

विदेशमा फोटो पत्रकारहरुलाई उच्च सम्मान गरिने भएपनि नेपालमा राष्ट्रपति कार्यालय लगायत विभिन्न महत्वपूर्ण स्थानहरुमा रोकिने र प्रवेशमा बञ्चित गरिने गरिएकोप्रति धमलाले आपत्ति जनाए । उनले भने,‘फोटो पत्रकारहरुले निर्वाध रुपमा फोटो खिच्न पाउनुपर्छ, हामी पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छौं, राज्यले फोटो पत्रकारको मौलिक अधिकारलाई सम्मान गर्नुपर्छ।’

त्यस्तै धमलाले क्लब र आफू जहिल्यैपनि फोटो पत्रकार महासंघको पक्षमा रहेकोले आगामी दिनमा महासंघलाई जस्तोसुकै सहयोग प्रदान गर्नपनि पछि नहट्ने विश्वास दिलाए । उनले भने,‘फोटो पत्रकार महासंघलाई कार्यालय व्यवस्थापनको लागि क्लबले सहयोग पुर्याउँछ।’

नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले नेपालका हरेक परिवर्तनका आन्दोलनमा फोटो पत्रकारहरुले खेलेको भूमिका अविश्मरणीय रहेको बताए । थापाले फोटो पत्रकारकै कारण मुलुकको ईतिहाँसको संरक्षण भएको स्पष्ट पारे ।

उपाध्यक्ष थापाले आगामी दिनमा पनि फोटो पत्रकारहरुले सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । फोटो पत्रकार महासंघलाई नेपाल पत्रकार महासंघले सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाए ।

त्यस्तै कार्यक्रममा महासंघका कोषाध्यक्ष रत्न श्रेष्ठलेलोकतन्त्रको संस्थागत विकास तथा राष्ट्र निर्माणमा महासंघको तर्फबाट सक्दो योगदान पुर्याउने विश्वास दिलाए ।

महासंघद्धारा जारी गरिएको प्रेस विज्ञप्तीको पूर्णपाठ
मिति २०७५-०२-१९

नेपाल फोटो पत्रकार महासंघ,जिल्ला अध्यक्षहरुको भेला

‘चितवन घोषणा पत्र २०७५’

प्रेस विज्ञप्ती

पत्रकार साथीहरु,

नेपाल फोटो पत्रकार महासंघको आयोजनामा फोटो पत्रकार महासंघ आवद्ध ‘जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला’ यहि मिति २०७५ जेठ १६ र १७ गते चितवनको सौराहामा सम्पन्न भएको कुरा जानकारी गराउँदछु ।

कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अथिति माननिय गृहमन्त्री राम बहादुर थापा ‘बादल’, विशेष अथिति पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डे, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विपुल पोखरेल, उपाध्यक्ष दीलिप थापा, पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष तथा फोटो पत्रकार महासंघ मकवानपुरका अध्यक्ष प्रताप बिष्ट, नेपाल सरकारका सह–सचिव, विभिन्न सुरक्षा निकायका प्रतिनिधी लगाएतले शुभकामना मन्तव्यका साथ आफ्ना भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रममा देशका विभिन्न ३२ शाखाबाट ५० जनाको सहभागीता रहेको थियो । संस्थाले कार्यक्रमको छलफल सत्रमा जारी गरेको ‘चितवन घोषणा पत्र २०७५’ यस प्रकार छ ।

१. देशभरका विभिन्न संचार माध्यममा कार्यरत फोटो पत्रकारलाई नेपाल फोटो पत्रकार महासंघमा गोलबद्ध गराउने ।

२. महासंघमा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम संचालन गर्ने । उक्त कार्यका लागि विभिन्न संघ संस्थासँग सहकार्य गर्ने ।

३. आम फोटो पत्रकारहरुको हकहितका लागि आवाज बुलन्द गर्ने ।

४. फोटो पत्रकारहरुको जीवनरक्षार्थ बिमा तथा उपकरणको बीमाको लागि सम्बन्धित निकायसँग छलफल तथा पहल गर्ने ।

५. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सदैव तत्पर रहने ।

६. संघीय संरचना अनुसार महासंघलाई पनि रुपान्तरण गर्दै लैजाने ।

७. आन्तरिक तथा वाह्यक पर्यटक प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने ।

८. लोकतन्त्रको संस्थागत विकास तथा राष्टनिर्माणमा महासंघको तर्फबाट सक्दो योगदान पुर्याउने ।

९. प्रेस स्वतन्त्रता भनेको अभिव्यक्ति स्वतन्त्रता पनि हो । लेख्न पाउने, बोल्न पाउने स्वतन्त्रतामा नै प्रेस स्वतन्त्रता जोडिएको हुन्छ ।

संविधानले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेपनि त्यसको पूर्ण रुपमा प्रयोग गर्न प्रेस र आम नागरिकले पाएका छैनन । अहिलेपनि समाचारका लागी फोटो खिच्न गएका फोटो पत्रकारहरुलाई धम्की दिइने, आक्रमण हुने क्रम जारी छ ।

जसका कारण सेल्फ सेन्सरसीप बढेको छ । राज्य र गैरराज्य पक्षबाट फोटो पत्रकारमाथि प्रत्यक्ष वा अप्रत्यक्ष प्रहारका प्रयास भइरहेका छन् ।
त्यस्तै आम नागरिकले संविधानप्रदत्त विचार र अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न पाएका छैनन । तसर्थ यसको संरक्षण, सम्मान र स्वतन्त्र रुपमा उपभोग गर्न पाउने वातावरण सिर्जना गर्न यो बैठक सबै सरोकारवालाहरुसँग माग गर्दछ ।

हरि रेग्मी
महासचिव
नेपाल फोटो पत्रकार महासंघ
केन्द्रीय कार्य समिति
सम्पर्क नम्बर, ९८४११६०३११/९८५१०४६४३९



प्रतिक्रिया दिनुहोस्

Screenshot