Logo

इंग्लिश प्रिमियर लिग : चेल्सीको पोस्टमा सिटीको आधा दर्जन गोल



काठमाडौ, २८ माघ । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विपक्षी चेल्सीको पोस्टमा गोल वर्षा गरेको छ । आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई ६–० गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक गरेपछि सिटीले चेल्सीको पोष्टमा आधा दर्जन गोल हानेको हो । यस्तै सिटीका लागि रहिम स्ट्रलिङले दुई गोल गर्दा इल्क्ये गुन्डुगानले एक गोल गरे ।

चेल्सीविरुद्ध सिटीले पहिलो हाफको २५ मिनेट भित्रै ४ गोल गरेको थियो । खेलको चौंथो मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको १३ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीको अग्रता २–० को बनाए । १९ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ३–० को बनाए । खेलको २५ औं मिनेटमा गुन्डुगानले गोल गर्दै सिटीको अग्रता ४–० को बनाए ।

खेलको ५६ औं मिनेटमा अग्युरोले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै सिटीको अग्रता ५–० बनाए । योसंगै अग्युरोले प्रीमियर लीग करिअरको ११ औं ह्याट्रिक पुरा गरे । र, अग्युरोले सर्वाधिक ह्याट्रिक गर्ने एलेन सेरेरको कीर्तिमानसंग बराबरी गरे ।

यस्तै खेलको ८० औं मिनेटमा स्ट्रलिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ६–० को जित दिलाए । जितसंगै सिटी लीगको शीर्ष स्थानमा समेत उक्लिएको छ । सिटीले २७ खेलबाट ६५ अंक जोडेको छ । सिटीले लिभरपुललाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।

एक खेल कम खेलेको लिभरपुलको पनि ६५ अंक रहेको छ । पराजित चेल्सी २६ खेलबाट ६० अंक जोडेर लिगको छैटौं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot