Logo

आइजीपी हटाउने हल्ला फिजाउने को ?



काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली यूरोप भ्रमणबाट फर्किएलगत्तै एउटा हल्लाले बजार तातेको छ । त्यो हल्ला हो—नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाई हटाएर हालका एआइजीमध्येबाट एकलाई आइजीपी बनाउने ।

हल्लाले बजार यतिसम्म तात्यो कि बिहिबार आइजीपी हट्ने निर्णय भइसकेको समेत भनियो । आइजीपी खनालले एउटा अन्तर्राष्ट्रिय मञ्चमा खेलेको भुमिकालार्य आधार बनाएर प्रधानमन्त्री ओली निकै असन्तुष्ट छन् र हटाउँदैछन् भन्ने हल्ला चलाइयो ।

पुलवामा हमलामा भारतलाई खुशी बनाउने गरी थाइल्याण्डको एक कार्यक्रममा भारतका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालको प्रस्तावलाई साथ दिएको भन्ने विषय उठाएर आइजीपी खनाललाई विवादमा पार्न खोजिएको थियो । तर, परराष्ट्र मन्त्रालयले त्यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । आइजीपी खनालले कुनैपनि प्रस्तावमा हस्ताक्षर समेत नगरेको विषयलाई किन उचालियो भन्ने विषय अहिले चर्चाको विषय छ ।

विश्वस्त स्रोतका अनुसार आइजीपी खनाललाई हटाउन एउटा समूह निकै सक्रिय छ । त्यो समूहले गलत प्रचार गरेर नेपाल प्रहरीको चेन अफ कमान्डलाई फितलो बनाउन खोजेको छ । हल्लाको घटनाबारे प्रधानमन्त्री निकटस्थ स्रोतसँग रिपोर्टर्स नेपालले सोध्दा त्यस्तो कुनै निर्णय नहुने स्पष्ट पारेको छ ।

प्रधानमन्त्री ओली सुरक्षा निकायमा हात हालेर अप्ठ्यारोमा पर्ने पक्षमा नभएको बुझिएको छ । विगतमा आइजीपी प्रकरणमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विवादमा परेका थिए । आइजीपी प्रकरणले देउवालाई मात्र नभई काँग्रेसलाई ठूलो धक्का परेको थियो ।

नेपालको राजनीतिमा कुनै दुर्घटना गराउन सुरक्षा निकायमा विभिन्न प्रकरण गर्ने गरिन्छ । सेनापति प्रकरणले प्रचण्डलाई धक्का परेको थियो । आइजीपी प्रकरणले देउवालाई धक्का परेको इतिहास साक्षी छ । ओली अर्को आइजीपी प्रकरण मच्चाउने पक्षमा नभएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot