Logo

गौतमबुद्ध विमानस्थल प्रयोग गर्ने वायुसेवालाई विशेष सुविधा



–रमेश लम्साल

काठमाडौं, भदौ २१ । सरकारले गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्ने विमान कम्पनीलाई थप सुविधा दिने भएको छ । हाल भौतिक निर्माण करीब ८० प्रतिशत सम्पन्न भएको सो विमानस्थलाई सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने लक्ष्य राखेको छ ।

हाल निर्माण कार्य युद्धस्तरमा जारी रहेको सो विमानस्थललाई थप व्यावसायिक बनाउने र काठमाडौँमा अवस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन पनि केही आकर्षक सुविधा दिने सरकारको तयारी छ ।

ओमनको वायु सेवा प्रदायक सलाम एयरको ‘जनरल सेल्स म्यानेजर’ समेत रहेको आइएमई समूहले आज आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौँबाट उडान र अवतरण हुने वायु सेवा प्रदायक कम्पनीलाई भन्दा गौतमबुद्ध विमानस्थलबाट त्यस्तो सेवा दिने कम्पनीलाई थप केही सुविधा दिने बारेमा सरकारले गृहकार्य गरिरहेको जानकारी गराएका छन्।

“पार्किङ, तथा उडान तथा अवतरणमा लाग्ने शुल्क केही कम गर्ने वा इन्धनसमेत सस्तोमा दिन केही गर्न सकिन्छ कि भनेर सरकारले आन्तरिक छलफल गरिरहेको छ ।” मन्त्री भट्टराईको भनाई रहेको छ ।

गौतमबुद्ध विमानस्थलाई केन्द्रमा राखेर उडान तथा अवतरण गर्ने वातावरण मिलाउन नेपालमा उडान गरिरहेका वायु सेवा प्रदायक कम्पनी तथा नेपाल आउन चाहेका अन्य कम्पनीलाई समेत सरकारले आग्रह गरेको उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ५० लाख यात्रुलाई सेवा दिएको तथ्याङ्क पेश गर्दै मन्त्रीले यात्रुको सङ्ख्या वार्षिक सात प्रतिशतले बढिरहेकाले पनि त्यसलाई व्यवस्थापन गर्न थप विमानस्थल निर्माण गरिएको जनाए ।

उनले भने “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । यस्तै पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पनि भौतिक निर्माण ४५ प्रतिशत माथि पुगेको छ ।

सन् २०२० को डिसेम्बरसम्म सो विमानस्थल निर्माण सम्पन्न हुन्छ भन्ने देखिएको छ ।” कार्यप्रगतिका आधारमा हेर्दा पोखरा क्षेत्रीय विमानस्थल तोकिएको समयभन्दा छ महीना पहिले नै निर्माण सम्पन्न हुने देखिएको छ । सो विमानस्थल सन् २०२१ को जुनमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका जनतालाई थप सेवा दिने र नेपाल आउन चाहने बौद्ध धर्मावलम्बीलाई पनि सहज यात्राको वातावरण तयार पार्ने मन्त्री भट्टराईको भनाइ छ ।

“विमानस्थलको प्रवद्र्धनका लागि सरकारले गर्न सक्ने जति सबै विषयलाई सम्बोधन गर्छ । मेरो आग्रह छ । अब गौतमबुद्ध विमानस्थललाई नै केन्द्रमा राखेर उडान तथा अवतरण गर्ने योजना बनाउनुस”, मन्त्री भट्टराईले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot