Logo

एनआरएन विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्- गैरआवासीय नेपाली विश्वभर नेपालको सदभावदूत



काठमाडौं, २८ असोज । तीन दिनसम्म चल्ने नवौं गैर आवासीय नेपाली विश्व सम्मेलन मंगलबारबाट शुरु भएको छ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा आयोजित विशेष समारोहबीच गरेकी छिन् ।

सम्मेलनमा राष्ट्रपति भण्डारीले गैर आवासीय नेपालीलाई विश्वभर नेपालको सद्भावदूत भनेकी छिन् । उनले भनिन्, ‘तपाईंहरु विश्वभर नेपालको सद्भाव दूत हुनुहुन्छ ।’ उनले एनआरएनले देखाएको देशभक्तिको भावनाको समेत उच्च कदर गरिन् ।
मुलुकको समग्र विकासमा गैर आवासीय नेपालीहरुले पुर्याएको योगदानको चर्चा गर्दै अझ योगदान पुर्याउने आशा व्यक्त गरिन् । रोजगार सृजना र उत्पादन वृद्धिका लागि एनआरएनको लगानी अझ बढेमा देशको काँचुली फेरिने बताइन् । समृद्ध नेपाल र सुखी नेपालीको यात्रामा सबै एकजुट हुनुपर्ने बताइन् ।


संसारभर आर्जेको ज्ञान, सीप र ऊर्जालाई सदुपयोग गरी एनआरएनलाई देशको समृद्धिको यात्रामा सहभागी हुन आव्हान गरिन् । गैर आवासीय नेपालीहरुले गरेको लगानीको प्रोत्साहन गर्न संविधानमा व्यवस्था गरेको छ ,उनले भनिन्, संविधानले नै गैर आवासीय नागरिकता दिने व्यवस्था गरेको छ ।
नेपाललाई माया गर्ने नेपालीहरु विश्वभर छरिएर रहेकोमा सबैलाई एकतावद्ध बनाउन एनआरएनको विशेष योगदान रहेको चर्चा गरिन् । सरकारले गैर आवासीय नेपालीहरुको लागि नेपालभित्र सहज र सम्मानजनक वातावरण बनाएको भन्दै देशले उनीहरुको योगदानको आशा राखेको बताइन् ।
उनले भनिन्, ‘वृहत नेपाल परिवारका सदस्य हौं । गैर आवासी नेपालीको विश्व सम्मेलन पारिवारिक पुर्नमिलनको पर्व हो ।’ मातृभूमिप्रतिको समर्पण र माया भौगौलिक सीमामा मात्र सिमित नहुने भन्दै देशबाहिर रहेका नेपालीहरुले पनि देशप्रति अगाध माया देखाएको बताइन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समृद्ध नेपाल र सुखी नेपालीको यात्रामा गैर आवासीय नेपालीहरुको उल्लेख्य योगदान रहेको चर्चा गरे । उनले नेपालमा लगानी र रचनात्मक सक्रियता देखाएकोमा एनआरएनप्रति धन्यवाद व्यक्त गरे ।

 

एनआरएन अध्यक्ष भवन भट्टले नेपालको विकासमा एनआरएनको योगदान अग्रणी रहेको बताए । उनले भविष्यमा लगानीको वातावरण बढाउन थाती रहेका कानुनी व्यवधान हटाउने कार्य तत्काल गर्नुपर्ने बताए । एनआरएनका पूर्व अध्यक्ष शेष घलेले एनआरएनको योगदानको तथ्य प्रस्तुत गर्दै भविष्यमा थप सक्रियता बढाउने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot