Logo

धनुषा बम विस्फोटमा ‘आर्थिक लेनदेन’ कारक



काठमाडौं, ३० मंसिर । धनुषामा प्रहरी इन्स्पेक्टरसहित तीन जनाको ज्यान गएको घटनामा पक्राउ परेका दुई जनाले मृतक राजेश साहलाई ४६ लाख रुपैयाँ तिर्नुपर्ने तथ्य फेला परेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा शुक्रबार राति टाइमबम विस्फोट हुँदा राजेश साह, उनका छोरा आनन्द र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिर दाहालको मृत्यु भएको थियो ।

राति १२ बजे साहको घरमा विस्फोट भएको थियो । पक्राउ परेकी सीता महरा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहसँग आबद्ध रहेको पनि खुलेको छ । चर्को ब्याज तिर्नुपर्ने भएपछि उनले साहविरुद्ध आफ्नो भूमिगत संयन्त्र परिचालन गरेको हुन सक्ने प्रहरी आशंका छ । ‘घटना रिसइबी र आर्थिक लेनदेनका कारण भएको आशंकामा अनुसन्धानलाई फराकिलो बनाएका थियौं,’ स्रोतले भन्यो, ‘त्यही क्रममा पक्राउ परेका लतिफ र सीताले क्रमशस् ४१ लाख र पाँच लाख रुपैयाँ राजेशलाई तिर्नुपर्ने तथ्य र प्रमाण भेटिएको हो ।’ साहले ३६ प्रतिशत ब्याजमा रकम लगानी गरेको स्रोतले बताए पनि अनुसन्धानलाई असर पुग्ने भन्दै प्रहरीले यसबारे औपचारिक रूपमा केही बताएको छैन । ‘सीताले पाँच लाख रुपैयाँको साँवारब्याज गरी १२ लाख तिर्ने गरी सापटी लिएको देखियो,’ स्रोतले भन्यो, ‘लतिफले राजेशलाई एकमुस्ट ४१ लाख तिर्नुपर्ने कागज गरेको पनि भेटियो ।’
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot