Logo

सबैलाई रुवाएर विदा भए केशव



काठमाडौं, १ पुस । कस्तो दुःखद् संयोग। २०५७ मा बनेको सुपरहिट फिल्म ‘आफ्नो मान्छे’ का निर्माता केशव भट्टराईको ५१ वर्षको उमेरमा आइतबार राति असामयिक निधन भएको छ। यही फिल्मका नायक श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मीले ५० नकाट्दै संसार छाडेका थिए। भट्टराई पनि नेपाली फिल्म उद्योगलाई टुहुरो बनाउँदै उनै ‘आफ्ना मान्छे’ भेट्न संसारबाट बिदा भए। अघिल्लो दिन निधन भएका कलाकार दीपक क्षेत्रीप्रति फेसबुक स्टाट्समा ‘दीपकजी तपाईंको आत्मशान्तिको कामना गर्दछु। हार्दिक श्रद्धाञ्जलि’ लेखेका भट्टराईको पार्थिव शरीर सोमबार पशुपति आर्यघाटमा क्षेत्रीसँगै जलिरहेको थियो।

वरिष्ठ अभिनेता, चलचित्र निर्माता एवम् चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको आइतबार बेलुका अनामनगरबाट चाबहिलस्थित ओम अस्पताल लैजाने क्रममा राति १०ः३० बजे निधन भएको हो। अध्यक्ष भट्टराई बेलुका मन्त्रालयको भेटघाट सकेर साँझ ७ बजे चलचित्र विकास बोर्डका सदस्य एवम् निर्माता नरेन्द्र महर्जनको कीर्तिपुरस्थित घरमा पारिवारिक भेटघाटका लागि गएका थिए। बेलुका ९ बजेतिर घर फर्कने क्रममा बाटोमा भट्टराईलाई अप्ठ्यारो महसुस भएपछि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो। विगत डेढ दशकदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएका अध्यक्ष भट्टराईको निधन हृदयाघातका कारण भएको चिकित्सकले बताएका छन्। २०२५ मंसिर ४ गते ओखलढुंगमा जन्मिएका भट्टराईले २०४५ सालमा कोसेली फिल्मबाट अभिनय यात्रा थालेका हुन्। ३१ वर्ष लामो चलचित्र यात्राको क्रममा भट्टराईले ५० भन्दा बढी चलचित्रमा काम गरेका छन्। आठवटा फिल्म निर्माण गरेका उनले यो वर्ष फिल्म ‘यात्रा’ निर्माण गरेका थिए। उनी आठ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्ष नियुुक्त भएका थिए।

यसैबीच, कलाकारद्वय भट्टराई र क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन्, ‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं। उहाँहरूको कला सधैं हाम्रो स्मृतिमा रहनेछ। हार्दिक श्रद्धाञ्जलि १ शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ दाहसंस्कार गर्नुअघि दुवै कलाकारको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि चलचित्र विकास बोर्डमा रखिएको थियो। श्रद्धाञ्जलि व्यक्त गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल, कांग्रेस नेता शेखर कोइरालालगायत पुगेका थिए। श्रद्धाञ्जलि व्यक्त गर्न कलाकारको ठूलो उपस्थिति थियो भने बोर्ड तथा आर्यघाटमा कलाकार र आफन्तको रुवाबासी चलेको थियो। ‘आफ्नो मान्छे’, ‘पाहुना’, ‘ब्रास्लेट’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’लगायत फिल्म निर्माण गरेका भट्टराईले लामो समय नेपाल विद्युत् प्राधिकरणमा काम गरे। विकास बोर्डमा नियुक्त भएपछि उनले प्राधिकरणबाट राजीनामा दिएका थिए। ‘चिनो, दुई थोपा आँसु, दक्षिणा’ लगायतका फिल्ममा काम गरेपछि उनले चलचित्र ‘मितज्यू’ मा नायक हुने अवसर पाएका थिए। भट्टराईका एक छोरा र श्रीमती छन्।
अन्नपूर्ण पोष्ट्बाट

अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्

Screenshot