Logo

१९० जनाले यात्रा गर्न मिल्ने मिनी पानीजहाज अब नारायणीमा



चितवन, पुस ८ । चितवनमा बनिरहेको मिनी पानीजहाज क्रुज सिपको नारायणी नदीमा सफल परीक्षण गरिएको छ । नारायणी नदी किनारमा पर्ने काभ्रेघाटमा बनिरहेको ‘क्रुज सिप’लाई नदीमा चलाएर परीक्षण गरिएको हो ।

भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वनको कभ्रेघाटमा लामो समय लगाएर बनाइएको ‘मिनी पानीजहाज’ को आइतबार दिउँसो गरिएको परीक्षण सफल भएको बताइएको छ ।

क्रुज सिप बनाइएको ठाउँबाट एक किलोमिटरसम्म परीक्षण गरिएको हो । सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको निर्माण गत वर्ष चैतबाट थालिएको थियो । निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

नर्बेजियन प्रविधि प्रयोग गरेर बनिरहेको क्रुज सिपमा भारतका प्राविधिकले काम गरिरहेका छन् । क्रुजमा दुईवटा इन्जिन छन् । क्रुजको तल्लो भागमा कुनै कारणले प्वाल परेर वा क्षति भएर पानी पसेमा सबै भागमा पानी नजानेगरी डिजाइन गरिएको छ ।

क्रुज सिपमा अहिले विदेशी १५ जना चालक दलका सदस्य र प्राविधिक रहे पनि पछि नेपाली प्राविधिकले नै यसलाई चलाउने योजना बनाइएको छ । क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा सय जना मानिस अट्ने क्षमता छ ।

दसैंअघि नै सञ्चालन गर्ने भनिए पनि डिजाइन परिवर्तन गरेर क्रुजमा भीआईपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट थप गरिएको छ । क्रुजको डिजाइन परिवर्तन गरिएका कारण केही समय ढिलाइ भएको सञ्चालक रामचन्द्र कँडेलले बताए ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्