Logo

देउवाको एकलौटी निर्णय मान्दैनौं : पौडेल



काठमाडौं, ११ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज केन्द्रिय समितिले गरेका सबै निर्णयको विरोध गरेका छन् । रिपोर्टर्स नेपाल डटकमका लागि ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले आज गरिएको निर्णयले पार्टीभित्र थप विभाजन र विमति सिर्जना गरेको बताएका हुन् ।

सभापति शेरबहादुर देउवा पक्षधर केन्द्रिय सदस्यहरुको मात्रै उपस्थितिमा २०७७ साल फागुन ७ गतेदेखि १० गतेसम्म गर्ने निर्णय सहमतिविपरित भएको पौडेलको जिकिर छ । आफूहरुले मंसिर महिनाभित्रै महाधिवेशन गर्ने सुझाब दिए पनि देउवाले बहुमतको आडमा फागुनमा गर्ने निर्णय गरेको पौडेलले बताए । “आजको निर्णयले पार्टीभित्र सहमति हैन विमति सिर्जना गर्छ । एकतावद्ध हुनुपर्ने समयमा विभाजन गर्नेछ ।”-पौडेलले भने ।

यो पनि पढ्नुहोस् :

कांग्रेसको १४ औँ महाधिवेशन ७७ साल फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय

देउवाले एकलौटी रुपमा निर्णय गर्नु दुर्भाग्य भएको भन्दै पौडेलले महाधिवेशन अन्तिम समयमा गर्ने गरी मिति तोकिनु खतरा हुनेबताए । तोकिएको मितिमा महाधिवेशन भएन भने कांग्रेस समाप्त हुने पौडेलको तर्क छ ।

२८ विभागलाई ४१ बनाउने निर्णय विधान विपरित भएको पौडेलले बताए । यस्ता निर्णय नमान्ने चेतावनी दिदै पौडेलले विभाग गठनमा आफ्नो तर्फबाट सहभागि नहुने स्पष्ट पारे । तरुण दलको म्याद ५ थप्नु गल्ती भएको भन्दै उनले नेविसंघको विवाद नसुल्झाउनु भूल भएको टिप्पणी गरे ।

आफ्नो असन्तुष्टी भोलि महामन्त्री डा. शशांक कोइरालाको निवासमा पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गर्ने संकेत पौडेलले दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot