Logo

“नेपाल-भारत सम्बन्ध सुमधुर छ, सीमा विवाद छिट्टै हल हुन्छ ” : पूर्वराजदुत केभी राजन



सिओल, दक्षिण कोरिया २० माघ । नेपालका लागि भारतीय पूर्व राजदुत तथा नेपाल मामिलाका जानकार केभी राजनले नेपाल भारत द्धिपक्षीय सम्बन्ध पछिल्लो समय अति सुमधुर रहेको स्पष्ट पारेका छन् । दक्षिण कोरियाकाो राजधानी सिओलमा आयोजित विश्व शान्ति मिडिया सम्मेलनको क्रममा पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै राजनले यस्तो बताएका हुन् । उनले भने,”पछिल्लो समय नेपाल र भारतबीच सम्बन्ध धेरै राम्रो भएको छ । अहिले द्धिपक्षीय सम्बन्धमा कुनैपनि खालको अविश्वास देखिएको छैन् । दुवै देशमा बलिया सरकार छन् ।”

उनले दुवै देशका प्रधानमन्त्रीबीच पनि सुमधुर सम्बन्ध रहेको चर्चा गरे । “दुवै देशका सरकार बलिया छन्, अहिले नेपाल र भारतबीचको जनस्तरको सम्बन्धपनि सुमधुर छ ।”-राजनले थपे । उनले दुई देशबीचको सीमा समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्नेगरि पहल भैरहेको जानकारी दिए । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका सीमा विवादबारे दुई देशबीच वार्ता भएर समस्याको समाधान गरिने उनको भनाई छ ।

उनले सीमा विवादको लागि छिट्टै सचिवस्तरीय वार्ता हुन लागेको पनि जानकारी दिए । उनले भने,”सचिवस्तरीय वार्ताबाट नै सीमा विवादको समस्या हल हुन्छ भन्नेमा म विश्वस्त छु । यही वार्ताले निकास दिन्छ ।” तर, सीमा विवादबारे सडकमा चिच्याएर वा हल्ला गरेर यसको समाधान नहुनेतर्फ पनि उनले सचेत गराए । उनले थपे,”बरु दुई देशबीच उच्चस्तरीय तहमा वार्ता गरेर यसको समाधान खोजिनुपर्छ । कुटनीतिक कौशलता प्रदर्शन गर्दै अघि बढ्नु आजको आवश्यकत्ता हो ।” उनले सीमा विवादलाई ठूलो कुरा नभएको टिप्पणी गरे ।

राजनले नेपालको विकास र समृद्धिमा भारतले सधैं सहयोगी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यो सहयोगलाई निरन्तरता दिने वचन दिए । उनले भने,”भारतको सबैभन्दा निकट मित्रराष्ट्र भनेको नै नेपाल हो । हामी नेपालको विकासमा जस्तोसुकै सहयोग गर्नपनि तयार छौं ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच धेरै राम्रो सम्बन्ध भएकोले द्धिपक्षीय सम्बन्ध आगामी दिनमा समेत सुमधुर हुने उनको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot