Logo

विश्वभर तेलको मूल्य घट्दा नेपालमा किन घटेन ? यस्तो छ रहस्य



फागुन ३०, काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटेको छ । नेपालमा भने पुरानै मूल्य कायम छ । सरकारलाई मूल्य समायोजन गर्न दबाब बढिरहेको छ । तर भारतले १५–१५ दिनमा पठाउने नयाँ मूल्य नै नेपालमा लागु हुने नेपाल आयल निगमले स्पष्ट पारेको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य घटेर प्रति ब्यारल ३० डलरभन्दा तल पुगेको छ । यो चार वर्षयताकै सर्वाधिक कम मुल्य हो । कोरोना भाइरसका कारण विश्व बजारमा तेलको मूल्य घटेपनि नेपाली बजारमा भने अझै सम्म सरकारले तेलको मुल्य समायोजन गरेको छैन । निगमले जारी गरेको मुल्यअनुसार अहिले पेट्रोलको मुल्य प्रति लिटर १०८ र डिजेल ९७ रुपैयाँमा बिक्री हुदै आएको छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको गिरावट अनुसार नेपालमा पनि तेलको मुल्य घट्नु पर्ने हो । तर नेपालमा हुने कारोबार मूल्य भारतसँग निर्भर रहेकाले विश्वबजारमा घट्यो भन्दैमा घटाइहाल्न नसक्ने नेपाल आयल निगमको जवाफ छ । निगमका कार्याकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार विश्वबवजारमा मूल्य घटेपछिको तेल नेपाल भित्रिएकै छैन । पहिला नै ल्याइएको तेल विक्रि भइरहेकाले मूल्य घटाउन नसकिने पौडेलको भनाई छ । भारतबाट आयात गरिने तेलको मूल्य भारतले नै १५–१५ दिनमा निर्धारण गर्ने भएकाले त्यसकै पर्खाइमा रहेको निर्देशक पौडलको भनाई छ ।

कोरोना भाइरसको संक्रमणको हल्लाले इन्धन तथा खाना पकाउने ग्यासको अभाव हुने त्रास छ । तर निगमले हल्लाको पछि नलाग्न आग्रह गर्दै अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेको छ ।

अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११ दशमलव ४४ अमेरिकी डलर अर्थात् २५ दशमलव ३ प्रतिशत गिरावट आएको छ । लन्डनमा प्रति ब्यारेल ३३ दशमलव ३३ अमेरिकी डलरमा कारोबार भएको छ । विश्वव्यापी तेल बजारमा देखिएको उथलपुथलकै कारण मध्यपूर्व र एसियाली शेयर बजारमा व्यापक गिरावट आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot