Logo

वामदेव र विष्णु पौडेल यु टर्न, अध्यादेशले ओलीमाथि संकट



काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आफैले ल्याएको अध्यादेशका कारण संकटमा परेका छन् । राजनीतिक दल फुटाउन सजिलो हुने र संवैधानिक परिषदमा विपक्षी दलका नेता र सभामुखलाई समेत कमजोर पार्ने गरी ८ वैशाखमा ल्याइएर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेको अध्यादेशले उनी अहिले पार्टीभित्रैबाट दबाबमा परेका हुन् ।

सचिवालय बैठकले अध्यादेश फिर्ता लिन ८ वैशाखकै साँझ दबाब दिएकोमा बहुमतले सिधै र घुमाउरो ढंगले समर्थन दिएपछि ओलीको संकट टरेको थियो । तर, यही अध्यादेशको आँडमा हिजो देखि समाजवादी पार्टी विभाजन गर्न खोज्दा खुलेको चलखेलका कारण उत्पन्न परिस्थितिका कारण सचिवालयका बहुमत सदस्य यसको विपक्षमा उभिएका छन् ।

आज साँझ भैंसेपाटीस्थित नेकपा उपाध्यक्ष वामदेव गौतमको निवासमा बहुमत सचिवालय सदस्यको बैठक बसेको थियो । बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालका अलावा नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । उनीहरुले अध्यादेश फिर्ता लिन लगाउने निर्णय गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार नेताहरुले पछिल्लो समय उत्पन्न परिस्थितिका बारेमा गम्भीर विश्लेषण गर्दै राजनीतिक प्रणालीमै संकट आउने भन्दै अध्यादेश फिर्ता गराउने निर्णय गरेका छन् । योसँगै वामदेव गौतम र विष्णु पौडेल यु टर्न भएका छन् ।

सचिवालयमा अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेशबारे नयाँ निर्णय लिनुपर्ने अवस्थामा पुगेका छन् । उनी राष्ट्रपति निवास शितलनिवास पुगेका छन् । उनी अकस्मात शितलनिवास पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot