Logo

महाराष्ट्र सरकारद्वारा अस्पतालहरु उपलब्ध गराइदिन केन्द्र सरकारसँग अपिल



२४ वैशाख । भारतको महाराष्ट्र सरकारले कोभिड १९ संक्रमणको उपचारका लागि अस्पतालहरु उपलब्ध गराइदिन भारतका केन्द्र सरकारलाई अपिल गरेको छ ।

महाराष्ट्रमा कोभिड १९ का विरामी बढ्दै गएपछि उनीहरुको उपचारका लागि आफ्नो राज्यमा रहेका अस्पतालहरु पर्याप्त नभएको भन्दै सो अपिल गरेको हो ।

महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेको कार्यालयबाट बुधबार बिहान जारी भएको अपिलमा भारतको केन्द्रीय सरकारको मातहतमा रहेका स्वास्थ्य संस्था तथा अस्पताललाई उपलब्ध गराइदिन भनिएको छ ।

यसका लागि भारतको केन्द्र सरकारका विभिन्न निकाय तथा विभागहरुलाई आग्रह गरिएको छ । ती विभागहरुलाई आफ्नो राज्यमा विरामीहरुको संख्या अकल्पनीय रुपमा बढ्दै गएको र भोलिका दिनमा उपचारका लागि स्वास्थ्य संस्थाहरु नै उपलब्ध हुन सक्ने अवस्था पनि नरहन सक्ने भन्दै सो अपिल गरिएको बताइएको छ ।

यही मे महिनाभित्रै महाराष्ट्रमा अतिरिक्त आइसियु कक्षका साथै औषधि तथा स्वास्थ्यकर्मीहरुको संख्यामा पनि बृद्धि गर्नुपर्ने अवस्था रहेको सो अपिलमा भनिएको छ ।

यस राज्यमा भारतका अन्य राज्यको तुलनामा सबैभन्दा धेरै संक्रमित रहेका छन् । यहाँ दिन प्रतिदिन कोरोनाका संक्रमित थपिँदै गएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot