Logo

मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटे, संकटकाल लगाउलान् त ? !



काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १२ बजलाई मन्त्रिपरिषद बैठक बोलाएका छन् । उनले बैठक बस्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई किन र के उद्देश्यले भेटे त भनेर अहिले चर्चा र बहसको विषय बनेको छ ।

अहिले ११ बजेबाट सुरु हुने भनिएको पार्टीको स्थायी कमिटी बैठकसमेत प्रभावित हुनेगरि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफूलाई सक्रिय तुल्याएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापा बादललगायतका नेताहरुले ओलीले सरकार र पार्टी दुवैको नेतृत्व गर्न नसक्ने निश्कर्ष निकाल्दै राजीनामा माग गरेका छन् ।

आफू चरम संकटमा परेपछि ओलीले जस्तोसुकै कदमपनि चाल्न सक्नेबारे राजनीतिक वृत्तमा टिकाटिप्पणी हुन थालेको छ। मन्त्रिपरिषद बैठक बस्नुअघि ओलीले राष्टपति भण्डारीलाई भेट्नुले कतै सरकारले संकटकाल घोषणा गरेर अघि बढ्न खोजेको त होईन ? भन्नेपनि चर्चा चलेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संकटकाल घोषणा गर्न सक्ने छिन् ।

संविधानको धारा २७३ मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह, चरम आर्थिक विश्रृंखलता, प्राकृतिक विपद् वा महामारीका कारणले गम्भीर संकट भएमा राष्ट्रपतिले संकटकाल लगाउन सक्ने व्यवस्था गरेको छ। अहिले सरकारले कोरोना महामारीलाई देखाएर संकटकाल लगाउन खोजेको पनि राजनीतिक वृत्तमा चर्चा छ । प्रधानमन्त्री ओलीले संकटकाल नै लगाउनेगरि मन्त्रिपरिषदबाट सिफारिश गर्छन् वा के गर्छन् ? त्यो हेर्न बाँकी छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot