Logo

केपी ओलीको राजीनामा टर्यो ! नेपाल र गौतमले के भने ?



साउन ७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाबाट सुरु भएको सत्तारुढ नेकपाभित्र विवादले नयाँ मोड लिएको छ । गत शनिबार बसेको पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव ल्याएसंगै ओलीको राजीनामा तत्कालको लागि टरेको हो । एकातिर नेकपा भित्रको शक्ति समिकरण फेरिएको छ भने अर्कोतिर पार्टीभित्र वैचारिक बहसको लडाइ समेत शुरु भएको छ ।

आफ्ना गल्ती कमजोरीप्रति सबैले आत्मालोचना गरौं र मंसिरमै महाधिवशेन गरौँ भन्ने ओलीको प्रस्तावलाई प्रचण्ड लगायतका बहुमत सदस्याहरुले मौन समर्थन जनाएसँगै ओलीलाई राहत मिलेको छ । तर बरीष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले मंसिरमा महाधिवेशन गर्न नसकिने भन्दै आशंका गरीरहेका छन् ।

प्रधानमन्त्री ओलीको अर्का अध्यक्ष दाहाललाई महाधिबेशनमा जाने र त्यसपछिको एकल अध्यक्षको प्रस्ताबले नेकपाभित्रको शक्ति समिकरणमा समेत फेरबदल भएको छ । हिजोसम्म अध्यक्ष दाहाल–नेपाल समुहमा रहेर प्रधानमन्त्रीको राजीनामा माग्ने उपाध्यक्ष बामदेव गौतम अहिले आफु कही कतै कसैको गुटमा नरहेको र प्रधानमन्त्रीको राजीनामा पनि आफुले नमागेको बताउन थालेका छन । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै गौतमले अहिले राजीनामा नमागिएको बताएका हुन् ।

उता ओलीले दाहाललाई महाधिवेशनको प्रस्ताव राखेकोसंगै एउटै समुहमा रहेका वरिष्ठ नेता नेपाल समुहले पनि अध्यक्ष दाहाललाई महाधिवेशनसम्म सहकार्य गर्ने प्रस्ताव अघि सारेपछि त नेकपाभित्रको शक्ति समिकरणले नयाँ दिशा लिएको छ । यो प्रस्तावसंगै नेपाल पक्षले पनि महाधिवशेनमा दाहाललाई सहमतीको आधारमा अध्यक्ष बन्ने बाटो छेक्ने अवस्था नआउला भन्न सकिन्न । पार्टीको ९ औं महाधिवेशनमा ओलीसंग केही मतले पराजित भएदेखिनै ओलीको कट्टर आलोचक रहेका वरिष्ठ नेता नेपाल पनि अहिले रक्षात्मक रणनीति अवलम्बन गरी अघि बढीरहेका छन् ।

पार्टी अध्यक्ष समेत रहेका ओलीले पार्टीलाई एकलौटी ढंगबाट चलाउन खोजेकोले आफुले कुर्सीको लागि नभइ पार्टीलाई विधि र सिद्धान्तमा चलाउन खोजेको नेता नेपालले बताउँदै आएका छन । उनले पनि धमलासँग कुरा गर्दै ओली र आफुविच त्यस्तो मिल्नै नसक्ने कुनै कारण नभएको भन्दै आगामी महाधिवेशनमा ओलीसंग सहकार्य गरेर पार्टी अध्यक्ष हत्याउने दाउमा रहेको संकेत गरेका छन ।

पार्टी एकता हुंदा सहमतीकै आधारमा पार्टीको महाधिवेशन गर्ने भनिएको छ । तर अध्यक्ष ओलीले महाधिवेशन पछि एकल अध्यक्ष बन्न दाहाललाई गरेको प्रस्तावमा अध्यक्ष दाहालले समर्थन जनाएपछि नेपाल समुह दाहालसंग सशंकित बनेको छ । जसका कारण नेपालले आफु समर्थक नेताहरुलाई छुट्टै बोलाएर भेटघाट र छलफल समेत गरीसकेका छन् । नेकपाभित्र पार्टीको सैद्धान्तिक विचार के हुने भन्ने बहस पनि महाधिबेशनको एजेण्डासँगै अघि बढेको छ ।

अध्यक्ष दाहाल सहित पूर्वमाओवादी पक्ष २१ औं शताब्दीको जनताको जनवाद हुनुपर्ने पक्षमा छन भने पुर्व एमाले जनताको बहुदलीय जनबाद जबज हुनुपर्ने पक्षमा छन । दाहाल समुहमा रहेका वरिष्ठ नेता नेपालले आफु जनताको बहुदलीय जनवादको पक्षमा रहेको बताएपछि त नेकपाभित्र अर्को वैचारिक लडाइ सतहमै छर्लङ्ग भएको छ । दुई गुटमा बाढीएर एकले अर्काको अस्थित्व स्वीकार गर्न नसक्ने अवस्थामा पुगेका प्रधानमन्त्री ओली र दाहाल–नेपाल समूह भित्रै महाधिबेशन र एकल अध्यक्षको प्रधानमन्त्री ओलीको कार्डले भुईचालो नै ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्