Logo

अब उड्ने छैनन् चिनियाँ जहाज



काठमाडौं, साउन १९ । सञ्चालन घाटा बढ्दै गएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका छवटा चिनियाँ जहाज यसै सातादेखि ‘ग्राउन्डेड’ भएका छन् ।

बढ्दो दायित्वबीच निगम सञ्चालक समितिले गत असार १६ गते चिनियाँ जहाज सञ्चालनमा नल्याउने निर्णय गरेसँगै नेपाली आकाशमा चिनियाँ जहाजको उडानमा अहिलेलाई पूर्णविराम लागेको हो ।

आन्तरिक उडानमा पनि निगमलाई प्रतिस्पर्धी बनाउने र विकट क्षेत्रमा नियमित उडान गर्ने उद्देश्यसाथ २०७१ वैशाखमा निगमले चीनमै निर्मित ५६ सिट क्षमताका दुईवटा एमए ६० र १७ सिट क्षमताका चारवटा वाई १२ जहाज ल्याएको थियो ।

यसमध्ये एउटा एमए ६० र एउटा वाई १२ जहाज निगमको अनुदानमा र बाँकी चारवटा जहाज चीनकै एक्जिम बैङ्कसँग ऋण लिएर निगमले साढे चार अर्ब रुपियाँमा खरिद गरेको थियो ।

पहिलोपटक २०७१ वैशाखमा चिनियाँ जहाज भित्रिएदेखि नै बारम्बारको प्राविधिक समस्या र आर्थिक भारका कारण निगमले यसको नियमित उडान गराउन भने सकेको थिएन । पछिल्लोपटक निगमले यी जहाज सञ्चालनबाट वार्षिक ३० करोड रुपियाँ घाटा बेहोर्नुपरेको निष्कर्ष निकाल्दै अबदेखि सञ्चालनमा नल्याउने निर्णय गरेको हो ।

चिनियाँ जहाजको सामान्य प्राविधिक गडबडीमा पनि महँगो शुल्क तिर्नुपर्ने तथा बीमा शुल्क नै अन्य जहाजको तुलनामा महँगो हुँदा निगमलाई अतिरिक्त तर नियमित भार थपिएको थियो । त्यसमाथि चिनियाँ जहाज सञ्चालनका लागि पाइलट तयार गर्न समय लाग्दा लामो समय सञ्चालन गर्न नसक्ने अवस्थामा निगम पुगेको थियो ।

चिनियाँ जहाज सञ्चालन व्यवस्थापनमा संलग्न करारका कर्मचारीको आर्थिक व्ययभार पनि निगमलाई उत्तिकै थियो । यी जहाज सञ्चालनबाट विगत पाँच वर्षमा पनि नाफा नआएको अनुभवबाट सञ्चालनमा नल्याउने निर्णय गरिएको निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot