Logo

मलाई पनि तपाई सभापतिमा लड्नुपर्छ भनेर धेरै साथीहरूले भनिरहेका छन् : डा. महत



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले आगामी महाधिवेशनमा सवल र सक्षम नेतृत्व आउनुपर्नेमा जोड दिएका छन् । सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महतले यस्तो बताएका हुन् । उनले भने,‘पार्टीभित्र पनि केही विवादहरू रहेका छन् । अहिले खास गरेर महाधिवेशन हुँदैछ । महाधिवेशनमा आचारसंहिता कायम गर्ने, विधिपूर्वक काम गर्ने, हाम्रो मुख्य चिन्ता त्यही हो । कतिपय आचारसंहिता विपरीत काम भएको छ, विधिपूर्वक भएको छैन । त्यसलाई रोक्नुपर्यो, विधिपूर्वक काम गर्नुपर्यो । निष्पक्ष ढंगबाट अधिवेशन सम्पन्न गर्नुपर्यो । सहमतिको आधारमा निर्णय होस् भन्ने हाम्रो भनाई हो । त्यो नभएको कारणले पार्टीमा केही विवाद भइरहेको छ ।’ प्रस्तुत छ डा. महतसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेस पार्टीभित्र पनि विवादहरु देखियो । किन झगडा गर्दै हुनुहुन्छ तपाईहरु ?

पार्टीभित्र पनि केही विवादहरू रहेका छन् । अहिले खास गरेर महाधिवेशन हुँदैछ । महाधिवेशनमा आचारसंहिता कायम गर्ने, विधिपूर्वक काम गर्ने, हाम्रो मुख्य चिन्ता त्यही हो । कतिपय आचारसंहिता विपरीत काम भएको छ, विधिपूर्वक भएको छैन । त्यसलाई रोक्नुपर्यो  विधिपूर्वक काम गर्नुपर्यो। निष्पक्ष ढंगबाट अधिवेशन सम्पन्न गर्नुपर्यो । सहमतिको आधारमा निर्णय होस् भन्ने हाम्रो भनाई हो । त्यो नभएको कारणले पार्टीमा केही विवाद भइरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विभागहरु गठन गर्न मैले पाउनुपर्छ, मेरो दायित्व र अधिकार हो भनेर भनिरहँदाखेरि तपाईहरुले किन रोकिरहनु भएको छ ? किन हामी मान्दैनौँ भनेर अस्वीकार गरिरहनु भएको छ ?

सहमति पनि कायम नगरिकन जबरजस्ती आफ्नो अवधि सकिसकेको नयाँ अधिवेशन समयमा नियुक्ति हुने त्यो आपत्तिजनक हो । त्यसकारण मैले त फलानालाई नियुक्ति गरेँ भनेर महाधिवेशनलाई प्रभाव पार्ने ढंगले गरेको हो र जसलाई नियुक्ति भएको छ, त्यसलाई पनि राम्रो गरिरहेको छैन । अवैधानिक ढंगले गरेको विभाग, समिति, नियुक्ति गर्नु विल्कुल ठिक थिएन । व्यक्तिको आपत्ति हामीलाई विल्कुलै होइन ।

आगामी महाधिवेशनमा सभापतिको लागि तपाईहरूको समूहबाट १ जनामात्र उम्मेदवार हुन्छ कि ४/५ जना उम्मेदवार हुन्छन् ?

अहिले को लड्ने भन्ने त्यो विवादको विषयमा छँदै छैन । जुनबेला अधिवेशन फाइल गर्ने बेला हुन्छ, जुन बेला नामावली दर्ता बेला हुन्छ, त्यसबेलामा को लड्ने भन्ने कुरा हुन्छ । लड्ने इच्छा त सबैलाई होला । मलाई पनि तपाई लड्नुपर्छ भनेर धेरै साथीहरूले भनिरहेका छन् । त्यसकारण लड्ने/नलड्ने भन्ने कुरा त्यसै बखत थाहा हुन्छ, उपयुक्त समय आएपछि थाहा हुन्छ । इच्छा त विभिन्न साथीको छ । नेपालमा जुन हिसाबले राजनीतिक दलबीच विवाद भएको छ, त्यो अत्यन्तै दुर्भाग्यपूर्ण कुरा हो । लोकतान्त्रिक मुलुकमा पार्टीभित्र यत्रो विवाद, पार्टीभित्र नेतृत्वको लागि यत्रो प्रतिस्पर्धा, मै लड्छु भनेर विवाद गर्ने, झगडा गर्ने, त्यो प्रवृत्ति संसारमा, मुलुकमा कहीँ पनि छैन । अरू लोकतान्त्रिक मुलुकमा यस्तो प्रतिष्पर्धा हुँदैन । जसको विश्वास जसले आर्जन गर्नसक्छ, जो लोकप्रिय छ, जसले पार्टीलाई एक ढंगले सम्हाल्न सक्छ, त्यस्तो व्यक्तिलाई त अरूले पनि कर गर्छन् । निर्विरोध रूपमा सभापति बनाउने चलन छ । हाम्रो नेपालमा प्रतिष्पर्धा स्थानीय तहदेखि माथिल्लो स्तरसम्म प्रतिस्पर्धा छ ।

रामचन्द्र पौडेलको समूहबाट १ जनामात्र उम्मेदवार बन्नुहुन्छ कि ५/६ जना उम्मेदवार हुन सक्नुहुन्छ ? साझा उम्मेदवार आउँछ, सर्वसम्मतबाट ?

को हुने, कसो हुने भन्ने अब जनमत कसको पक्षमा छ, कसको पक्षमा बढी विश्वास छ, मै लड्छु कि अर्को लड्छ कि त्यही बेलामा निर्धारण हुन्छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot