Logo

चाडपर्व नजिकिए पनि व्यापार बढेन



काठमाडौं, असोज १३ । दशैंतिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्नुका साथै व्यापार पनि बढ्नुपर्ने हो । तर, कोरोना महामारीको प्रभावका कारण यस वर्ष चाडबाड नजिकिए पनि बजारमा खासै चहलपहल बढेको छैन र व्यापार व्यवसाय पनि बढ्न सकेको छैन ।

गतवर्षहरूमा वर्षभरि हुने व्यापारको आधा अंश दशैं र तिहारकै बेलामा हुने गथ्र्यो । तर, यस वर्ष व्यापारीहरूले दशैंतिहारको समयमा समेत लत्ताकपडाको व्यापार व्यवसाय करीब २० प्रतिशतभन्दा माथि नजान बताएका छन् ।

राष्ट्रिय व्यापार संघ न्यूरोडका कोषाध्यक्ष रामचन्द्र पराजुलीले बन्दाबन्दी खुलेपश्चात् बजारमा मानिसहरूको चहलपहल बढेको भए पनि महामारीको प्रभावका कारण उपभोक्ताको क्रयशक्ति घटेकाले गर्दा व्यापार बढ्न नसकेको बताए ।

सार्वजनिक यातायात खुलेको अवस्था भए पनि भाइरसको त्रासका कारण उपत्यकाबाहिरका व्यापारीहरूसमेत दशैंलक्षित सामान किन्न उपत्यका छिर्न सकेका छैनन् । यसअघि १ लाखको सामान खरीद गर्ने व्यापारीहरूले यति बेला ४०र५० हजारको मात्र सामान खरीद गर्ने गरेको उनले सुनाए ।

नेपालमा अन्य समयको तुलनामा दशैं र तिहारको समयमा जुत्ताचप्पल र लत्ताकपडाको व्यापार करीब ४० प्रतिशतले बढ्ने गर्छ । त्यस्तै, खाद्यान्नको उपभोगमा समेत यो समय वृद्धि हुने गरेको व्यवसायीहरू बताउँछन ।

तर, यस वर्ष महामारीको प्रभावका कारण लाखौं मानिसको आम्दानी प्रभावित हुन पुग्दा त्यसको प्रत्यक्ष असर उपभोक्ताको क्रयशक्तिमा पर्न गई उपभोग घट्दा व्यापार हुन नसकेको व्यापारीहरूको बुझाइ छ ।

हरेक वर्ष व्यापारीहरूले दशैंतिहारका लागि लक्षित गर्दै छिमेकी देश चीन र भारतबाट मात्रै करीब ३० अर्व नेपाली रुपैयाँ बराबरको तयारी कपडा आयात गर्ने गर्छन् । तर, यस वर्ष भारत तिरबाट सामान आयात भइरहेको भए पनि चीन तर्फबाट भने करीब १० महीनादेखि केरुङ नाकामा रोकिएका सामान अहिलेसम्म पनि आउन सकेका छैनन् ।

केही दिनअघि केरुङ नाका खुले पनि त्यहाँबाट फलफूललगायत अत्यावश्यक सामान मात्र आइरहेको छ । यसले गर्दा व्यापारीहरूमा तनाव थपिएको नेपाल राष्ट्रिय व्यवसायी संघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।

थोक बजारमा व्यापार केही हदसम्म बढेको देखिए पनि खुद्रा बजारमा व्यापारको अवस्था सुध्रन नसकेको उनले बताए ।

नेपाल वितरक संघका कोषाध्यक्ष राजु पौडेलको भनाइ पनि त्यस्तै रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot