Logo

शंकरका सामु विष्णु निरिह, दाङलाई राजधानी बनाएर राजनीतिक बाजी मार्दै



काठमाडौं, १९ असोज । कुनै अप्रत्याशित घटना विकास नभए प्रदेश ५ को राजधानी दाङको भालुवाङ हुनेछ । यो प्रदेश मुख्यमन्त्री शंकर पोखरेलको गृहक्षेत्र पनि हो ।

प्रदेश सरकार बनेको साँढे दुई वर्षपछि निकै मुश्किलले नाम लुम्बिनी प्रदेश र राजधानी दाङ बनाउने प्रस्ताव सरकारबाट पारित भई प्रदेश सभामा पेश भई दर्ता गरिएको हो । यसमाथि आजबाट छलफल हुनेछ । छलफललगत्तै निर्णायार्थ प्रस्तुत हुनेछ । जुन पारित हुने सम्भावना बलियो छ ।

दाङलाई राजधानी बनाउने भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा त्यहीं पुगेर बोलेका थिए । माओवादी जनयुद्ध हुँदा रोल्पालाई केन्द्र बनाएर सक्रियता बढाएका प्रचण्डको दाङसँग भावनात्मक सम्बन्ध पनि छ । रोल्पा र दाङ जोडिएका छन् । पूर्व माओवादीका प्रभावशाली नेताहरु पनि दाङलाई राजधानी बनाउने पक्षमा थिए ।

मुख्यमन्त्री शंकर पोखरेलले दाङलाई राजधानी बनाउन कदम बढाएसँगै आफ्ना राजनीतिक प्रतिष्पर्धी विष्णु पौडेललाई अप्ठ्यारोमा पारिदिएका छन् । नेकपा महासचिव पौडेल रुपन्देहीबाट चुनाव जित्दै आएका छन् । राजधानी दाङ पुग्ने भएपछि उनी निकै दबाबमा छन् । पार्टी निर्णय पुर्नविचार गर्ने माग समेत राखेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली समेत दाङकै पक्षमा देखिएका छन् । योसँगै उनले विष्णु भन्दा शंकरलाई प्रीय ठानेको प्रमाणित भएको छ ।

नेकपाभित्र शंकर पोखरेलको प्रभाव बढ्दै गएको देखिन्छ । ओलीको सत्ता संकट पर्दा शंकर पोखरेलको सक्रियता बढ्ने गरेको थियो । उनी काठमाडौं आएर भेटघाट तिव्र पार्थे । उनको पक्षमा सांसदहरुको ठुलो संख्या पनि छन् । यसरी उनले आफ्नै गुट मजबुत पारेका छन् ।

दाङ राजधानी बनाउन सके राजनीतिक भूगोल बलियो हुने र केन्द्रमा समेत प्रभाव बढाउन सकिने ठम्याईका साथ पोखरेल बढेको देखिन्छ । यसलाई उनले राजनीतिक जीवनकै ठुलो सफलतामध्ये मान्न सक्ने ठाउँ छ । तर, रुपन्देही, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँची जस्ता जिल्लाका नेकपा प्रदेश सांसदहरु दाङको पक्षमा छैनन् । यसले ह्वीप उल्लंघन भएमा प्रस्ताव पारित नहुन सक्ने सम्भावना नभएको होइन ।

प्रदेश ५ मा कुल ८७ प्रदेशसभा सांसद रहेकोमा दुई तिहाई अर्थात् ५८ जनाले मत दिएमा दाङ राजधानी बनाउने प्रस्ताव पारित हुनसक्छ । यसका लागि नेकपाको भोट पर्याप्त छ । नेकपासँग ६१ सांसद रहेकाले ह्वीप जारी भएमा सजिलै पारित हुने सम्भावना छ । तर, नेपाली काँग्रेसका केही सांसद विपक्षमा उभिएका छन् । १९ प्रदेशसभा सांसद रहेको काँग्रेसले ह्वीप जारी गरेन भने दाङको पक्षमा दुई तिहाई पुग्छ । जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । उनीहरुको मतले पनि महत्व राख्न सक्छ । यसरी प्रस्ताव पारित हुने सम्भावना छ ।

यसैगरी, हिजै मुख्यमन्त्री शंकर पोखरेल बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग एकसाथ भेटेर बुटवल फर्किएका छन् । उनले ओली र प्रचण्डका सामु असन्तुष्ट विष्णु पौडेलसँग पनि सहमतिको प्रयास गरेका थिए । ओलीकै सामु पोखरेल र पौडेलको चर्काचर्की परेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot