Logo

बदनियतले काटेको चेकले पु-याउला कारागार



काठमाडौं, माघ १० । आर्थिक कारोबार र लेनदेनको सिलसिलामा साथी–सहयोगी वा आफन्तलाई विश्वास दिलाउन खातामा रकम नभएको ‘चेक’ दिँदै हुनुहुन्छ भने होशियार रहनुहोला । चेक अनादर तथा बैङ्किङ कसुरसम्बन्धी मुद्दामा फस्नुहोला ।

बैङ्क खातामा पर्याप्त रकम नभई आफ्नो खाताको ‘चेक’ काट्ने व्यक्तिलाई चेक अनादर तथा बैङ्किङ कसुर तथा सजाय ऐनबमोजिम कानुनी कारबाहीलाई प्रहरीले सशक्त पारेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैङ्क खातामा पर्याप्त रकम नभएको ‘चेक’ वितरण गरी करिब तीन करोड रुपियाँ ठगी गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुरका ५१ वर्षीय रामबहादुर अधिकारी, काठमाडौँ चन्द्रागिरिका ३१ वर्षीय सुवास थापा र गोरखाका २९ वर्षीय विष्णु अम्गाई छन् ।

ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाका अनुसार काठमाडौँस्थित रानीबारी अटो प्रालिका सञ्चालक अधिकारीले आर्थिक कारोबारको सिलसिलामा तीन जनालाई ठगी गर्ने उद्देश्यले विभिन्न बैङ्कको भुक्तान नहुने चेक दिएका थिए ।

जिल्ला अदालत, चितवनले एक वर्षअघि अधिकारीविरुद्ध ५५ दिन कैद र दुई करोड ३२ लाख रुपियाँ जरिवाना सुनाएको थियो । थापाविरुद्ध अन्य दुई पीडितले दिएको जाहेरीमा १७ दिन कैद ६० लाख रुपियाँ जरिवाना गरिएको छ ।

अम्गाईविरुद्ध चेक अनादर मुद्दामा उच्च अदालत पाटन, ललितपुरले एक महिना कैद र १० लाख रुपियाँ जरिवाना सजाय सुनाएको छ । ब्युरो प्रमुख थापाका अनुसार खातामा रकम नभएको चेक दिई अरूलाई ठग्न खोज्दा आफँै फौजदारी कसुर सजाय भोग्नेहरू बढ्दै छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot