Logo

‘ट्रम्पमाथिको महाभियोग प्रस्ताव संवैधानिक’



एजेन्सी, २९ माघ : अमेरिकी माथिल्लो सदन सिनेटले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान गरेको छ । सिनेटको निर्णयसँगै ट्रम्पविरुद्ध लगाइएको दोस्रो महाभियोगबारे सुनुवाइले निरन्तरता पाउने भएको छ ।

सिनेटमा बुधबार भएको मतदानमा सुनुवाइ जारी राख्ने पक्षमा ५६ मत खसेको हो । ४४ जना भने सुनुवाइ जारी राख्न नहुने पक्षमा उभिएका थिए । ट्रम्पको दल रिपब्लिकनका ६ जना सिनेटरले पनि सुनुवाइ जारी राख्नुपर्ने पक्षमा मतदान गरेका हुन् ।सिनेटको सामान्य बहुमतले पनि सुनुवाइ प्रक्रियालाई निरन्तरता दिन सक्ने व्यवस्था छ ।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध तल्लो सदनले गत महिना महाभियोग लगाएको थियो । उनीविरुद्ध हाउस अफ रेप्रिजेन्टेटिभ्सले दोस्रोपटक महाभियोग पारित गरेको हो ।अमेरिकी इतिहासमा दुईपटक महाभियोग लगाइएका ट्रम्प पहिलो राष्ट्रपति हुन् । त्यसैगरी, अमेरिकामा महाभियोग लगाइएका जम्मा तीन राष्ट्रपतिमध्ये ट्रम्प एक हुन्

।वासिङ्टनस्थित क्यापिटल हिलमा जनवरी ६ मा ट्रम्प समर्थकहरूले आक्रमण गरेका थिए । अमेरिकामा नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा धाँधली भएको ट्रम्पको दाबीपछि त्यसको विरोधमा उनका समर्थहरूले क्यापिटल हिलमा प्रदर्शन गरेका थिए । उक्त आक्रमणअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई ‘हिंसाका लागि उक्साएको’ आरोप लगाइएको हो ।

ट्रम्प समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो । त्यस क्रममा केही सांसदहरू भवनभित्र लुक्न बाध्य भएका थिए । एक महिना लामो खोजबिनपछि संसद् भवनमाथि आक्रमण गरेको आरोपमा २ सय २१ जनाविरुद्ध मुद्दा चलाइएको अधिकारीहरूले जनाएका छन् ।

अभियोग लगाएका डेमोक्रेटहरूले क्यापिटल हिलमा आक्रमण हुनुअघि ट्रम्पले गरेको भाषण तथा उनका समर्थहरूका उद्दण्ड क्रियाकलापको भिडियो देखाएका थिए । ‘यो निकै ठूलो अपराध र खराब व्यवहार हो,’ मेरिल्यान्डका सिनेटर जमी रस्किनले भने । ट्रम्पका वकिलहरूले उनीविरुद्ध सुनुवाइ गर्न खोज्नु ‘असंवैधानिक’ भएको पनि दाबी गर्दै आएका छन् ।

ट्रम्प हाल पदमा नरहेका र आमनागरिक भइसकेका उनका वकिलहरूको तर्क छ । पछिल्लो राष्ट्रपतीय चुनावयता थप अमेरिकीहरूलाई कट्टरपन्थतर्फ डो¥याइएको भन्दै विज्ञहरूले राजनीतिक हिंसाको जोखिम बढ्न सक्ने चेतावनी दिँदै आएका छन् । त्यसका लागि ट्रम्प मुख्य जिम्मेवार रहेको कपितयको आरोप छ ।त्यसका साथै ट्रम्पका वकिलहरूले संसद् भवनमाथि आक्रमण गर्न समर्थकहरूलाई उनले नउक्साएको दाबी गरेका छन् । उनीहरूमध्ये एक डेबिड सोनले त्यसको आलोचना गर्दै महाभियोग प्रक्रियालाई ‘राजनीतिक अस्त्र’ बनाइएको दाबी गरे ।उनीहरूले महाभियोग प्रक्रियालाई डेमोक्रेटद्वारा गरिएको ‘राजनीतिक नाटक र निर्लज्ज कार्य’ को संज्ञा दिएका छन् । विपक्षी एवं अल्पमतमा रहेको पार्टीलाई चुप लगाउनु सुनुवाइको प्रमुख उद्देश्य रहेको उनीहरूको दाबी छ ।सिनेटमा रिपब्लिकन पार्टीका केही सदस्यले महाभियोग प्रस्ताव अघि बढाउन उचित नहुने बताएका बीबीसीले जनाएको छ । केही रिपब्लिकन सदस्यले भने महाभियोग सही र उपयुक्त रहेको बताए पनि अन्तिम मतदानमा सहभागी हुने र नहुनेबारे प्रस्ट पारिसकेका छैनन् ।

ट्रम्पमाथिको महाभियोग प्रस्ताव पारित हुन सिनेटको दुई तिहाइ मत आवश्यक पर्दछ । एक सय सदस्यीय अमेरिकी सिनेटमा हाल डेमोक्रेट र रिपब्लिकन पार्टीका ५०र५० सदस्य छन् । राष्ट्रपति जो बाइडेनले ट्रम्पमाथिको महाभियोगबारे आफूले कुनै पक्ष नलिने बरु सिनेटले नै यसबारे निर्णय गर्ने बताइसकेका छन् । सिनेटले महाभियोग पारित गरेको खण्डमा सिनेटको सामान्य बहुमतले नै ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार हुनबाट रोक्न सक्नेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot