Logo

भागरथी हत्याका दोषीलाई उम्कनै नदिने गरी प्रमाण जुटाउँदै प्रहरी



काठमाडौं, ३ फागुन । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरण यसरी गिजोलियो कि दोषी पत्ता लगाउन प्रहरी असफल भयो । अझैपनि घटनाको दोषी पत्ता लगाउन प्रहरी सक्रिय छ । तर, प्रमाण जुटाउन सकिरहेको छैन ।

शंकास्पदहरु पक्राऊ गरेपनि प्रहरीले प्रमाण यथेष्ट जुटाउन सकेन । जसका कारण प्रहरी आफै विवादमा परेको थियो । यस्तै अवस्था नआओस् भनेर भागरथी भट्ट हत्या प्रकरणमा प्रहरी दोषी फुत्कनै नसक्ने गरी अनुसन्धानबाट जतिसक्दो धेरै प्रमाण जुटाउन सक्रिय भएको छ ।

विश्वस्त स्रोतका अनुसार प्रहरीले अनुसन्धानको घेरा साँघुरो बनाउँदै लगेको छ । शंकास्पदहरुमाथि निगरानी र अनुसन्धान बढाएको छ । यथेष्ठ प्रमाण जुटाएपछि दोषी निश्चित रुपमा निक्र्यौल गरेपछि मात्र प्रहरीले घटनाको दोषीलाई सार्वजनिक गर्ने तयारी अगाडि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार भागरथी हत्या प्रकरणमा नजिककै चिनेजानेको व्यक्ति संलग्न छ । घटनामा कतिजना संलग्न छन् भन्ने प्रहरीले खुलाएको छैन । तर, उनलाई जङ्गलको बाटोबाट लतार्दै झाडीमा लगी बलात्कारपछि हत्या गरिएको अनुसन्धानबाट खुलेको छ । घटनास्थल नजिकै भागरथीको छालाको सानो टुक्रा समेत फेला परेको छ । उनका मोबाइल पनि भेटिएको छ । यीबाहेक घटनामा दोषीको पहिचान खुल्ने वस्तुहरु पनि फेला परेका छन् । यसैको आधारमा अनुसन्धान बढाइएको बुझिएको छ ।

१७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि प्रहरीले गरिसकेको छ । २१ माघमा लवलेक जङ्गलमा बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो ।

बलात्कारपछि भागरथीको घाँटी थिची हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।

सूदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी स्वयं सक्रिय भई दोषी पत्ता लगाउन खटिएका छन् । सीआइबीले पनि अनुसन्धानमा भूमिका खेलिरहेको छ । स्थानीयले दोषी पत्ता लगाउने प्रहरीको प्रयासमा साथ दिइरहेका छन् ।

लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा शव उत्तानो अवस्थामा फेला परेको थियो । सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भागरथीको घर र विद्यालयबीच जङ्गल पर्दछ । एक घन्टा पैदल दूरीमा पर्ने जङ्गलबाट घर फर्कने क्रममा भागरथी वेपत्ता भएकी थिइन् । विद्यालय छुटेपछि उनी हतार छ भनेर साथीलाई छाडेर गएकी थिइन् । तर, उनी घर पुगिनन् ।

साँझसम्म घर नफर्किएपछि उनको खोजी भएको थियो । दुई महिना अघि मात्र उनको पिताको मृत्यु भएको थियो । घरमा आमा थिइन् । दाजु भारतमा रोजगारीका लागि गएका थिए । दाजुले दिएको सिमकार्ड भागरथी चलाउँथिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot